आव २०८२/८३ को दोस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद मुनाफा घट्यो

काठमाडौं ।  नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिक्षित (Unaudited) वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको सञ्चालन आयमा सामान्य वृद्धि देखिए पनि खुद मुनाफामा उल्लेख्य गिरावट आएको छ ।

दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्ब २९ करोड ९७ लाख ३० हजार पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु. १७ अर्ब ४९ लाख २५ हजारको तुलनामा रु. २९ करोड ४८ लाख ०५ हजार (१.७३ प्रतिशत) ले बढी हो । तर कुल आय भने घटेर रु. १९ अर्ब २२ करोड ७२ लाख ६६ हजारमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजारको तुलनामा रु. २९ करोड २० लाख (१.५ प्रतिशत) ले कम हो ।

नाफातर्फ, कम्पनीको EBITDA (Earnings Before Interest, Taxes, Depreciation and Amortization) रु. ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रहेको छ, जुन गत वर्षको रु. १० अर्ब ०३ करोड ७५ लाख ८९ हजारको तुलनामा रु. २६ करोड ०५ लाख २६ हजार (२.६० प्रतिशत) ले घटेको हो। कर अघिको मुनाफा रु. ५ अर्ब ९१ करोड ४३ लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु. २८ करोड ४७ लाख ३८ हजार (४.५९ प्रतिशत) ले कमी हो ।

यसैगरी, खुद मुनाफा रु. ४ अर्ब १६ करोड ४५ लाख ०९ हजारमा झरेको छ, जुन गत वर्षको रु. ४ अर्ब ७८ करोड ५९ लाख २५ हजारको तुलनामा रु. ६२ करोड १४ लाख १५ हजार (१२.९८ प्रतिशत) ले कम हो । कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) रु. ४६.२७ रहेको छ ।

कम्पनीले राजश्व र नाफामा आएको परिवर्तनका प्रमुख कारणहरू पनि उल्लेख गरेको छ । OTT सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलमा कमी आएको र अन्तरआवद्धता आय करिब रु. ८ करोड ०५ लाख ९८ हजार (६.१४ प्रतिशत) ले घटेको जनाएको छ । साथै OTT सेवाले Voice/SMS सेवाबाट हुने आयमा समेत नकारात्मक प्रभाव पारेको छ ।

त्यस्तै, लगानीको मूल्यमा परिवर्तन र ब्याजदर घट्दा ब्याज आय करिब रु. ७४ करोड ६३ लाख ८३ हजार (३२ प्रतिशत) ले घटेको छ । राष्ट्रको सञ्चारवाहक संस्थाका रूपमा विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारमा बढ्दो लागत, सेवाको दररेट निर्धारणसम्बन्धी नीतिगत परिवर्तनका कारण दररेट कटौती, कर्मचारी बीमा तथा पेन्सन खर्चमा वृद्धि (कुल कर्मचारी खर्च ११.५ प्रतिशतले वृद्धि), जिन्सी मौज्दातमा इम्पेयरमेन्ट खर्च रु. १८.३५ करोडले बढ्नु, र चालु कर ५५.५६ प्रतिशतले बढ्नु जस्ता कारणहरूले पनि नाफामा दबाब परेको कम्पनीले जनाएको छ ।

यद्यपि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा भने गत वर्षको सोही अवधिको तुलनामा १५० प्रतिशतले वृद्धि भएको छ । समग्रमा सञ्चालन आयमा सामान्य सुधार देखिए पनि घट्दो ब्याज आय, OTT सेवाको प्रभाव र बढ्दो सञ्चालन तथा कर्मचारी खर्चका कारण कम्पनीको खुद मुनाफा उल्लेख्य रूपमा घटेको वित्तीय विवरणले देखाएको छ ।

You might also like

Comments are closed.