काठमाडौं । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय सूचना प्रविधि आइसिटी छात्रवृत्ति पुरस्कार २०८२ अन्तर्गत ५९ विद्यार्थीलाई २ करोड ७१ लाख ८१ हजार बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घ र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट अध्यक्ष नबिना खत्री कार्की र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले हस्ताक्षर गरेका हुन् ।
गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीमा सेवारत, अवकाशप्राप्त तथा अमर एवं अशक्त प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ ।
१९९८ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेजका रूपमा परिचित छ। विगत २६ वर्षभन्दा बढी समयदेखि यो संस्थाले सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत सेवा, अवकाशप्राप्त र शहादत प्राप्त प्रहरी परिवारका सदस्य तथा आश्रितका साथै हाल कार्यरत नेपाल प्रहरी कर्मचारीहरू लाभान्वित हुनेछन् । विशेष प्राथमिकतामा छात्रा छन् । छात्रवृत्ति कार्यक्रम अन्तर्गत सूचना प्रविधि विषयमा स्नातक बि.एस्सी. आइसिटी कोर, व्यवस्थापनमा स्नातकोत्तर एम.बि.ए र सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर एम.एस्सी. आइ.सी.टी.एम. कार्यक्रममा अध्ययनका लागि आर्थिक सहयोग प्रदान गरिनेछ ।
छात्रवृत्ति योजनाअन्तर्गत महिला मेधावी आइसिटी छात्रवृत्ति अन्तर्गत शतप्रतिशत सरस्वती, ५० प्रतिशत लक्ष्मी र ३० प्रतिशत दुर्गा छात्रवृत्ति उपलब्ध हुनेछ। त्यसै गरी खुला मेधावी आइसिटी छात्रवृत्तिअन्तर्गत ५० प्रतिशत शक्ति र ३० प्रतिशत साथी छात्रवृत्ति प्रदान गरिनेछ ।
स्नातक तहका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ तथा माध्यमिक शिक्षा परीक्षा एसइई मा गणित विषयमा न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ । स्नातकोत्तर तहका लागि सम्बन्धित विषयमा स्नातक उपाधि र न्यूनतम २.७५ श्रेणीाङ्क आवश्यक पर्नेछ। अन्तिम नतिजा प्रतीक्षारत विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्ति छनोट प्रक्रिया नेपाल प्रहरी श्रीमती सङ्घद्वारा गठित छनोट समितिले गर्नेछ। छात्रवृत्ति निरन्तरताका लागि प्रत्येक सेमेस्टरमा सबै विषय पहिलो प्रयासमै उत्तीर्ण गर्नुपर्नेछ र न्यूनतम ८५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। अनुशासनहीन वा नियम उल्लङ्घन गरेको पाइएमा छात्रवृत्ति रद्द हुन सक्ने व्यवस्था गरिएको छ ।
लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले यो पहलमार्फत नेपाल प्रहरी परिवारका सदस्यहरूको शैक्षिक सशक्तीकरण र सूचना प्रविधि तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी तथा आवेदन प्रक्रियाका लागि https://lbef.org/ ictscholarships-2082.php मा जान सकिनेछ ।


Comments are closed.