काठमाडौं । स्किल्सअपले निम्न एजुकेशन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा आयोजना गरेको ‘कोडभर ७.०’ राष्ट्रिय प्रतियोगिता सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको छ । एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले ‘स्वस्थ भविष्यका लागि प्रविधि’ मूल थिममा करिब १०० परियोजना प्रदर्शन गरेका थिए । इनोभेसन एन्ड आन्टरप्रेनरसीप, वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग प्रतियोगिता तीन ट्र्याकमा सञ्चालन गरिएको थियो ।
इनोभेसन ट्र्याकअन्तर्गत संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) केन्द्रित एआई तथा कोडिङ समाधान प्रस्तुत गरिएका थिए । वेलनेस वेभ ट्र्याकमा क्वार्की किटमार्फत स्वास्थ्य संकट परिदृश्यमा खोप वितरण र बिरामी उद्धारजस्ता कार्य गर्ने रोबोट प्रदर्शन गरिए । रोबो सकर लिगमा विद्यार्थीले निर्माण गरेका म्यानुअल रोबोटबीच प्रतिस्पर्धा गराइएको थियो ।
स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित स्मार्ट ह्वीलचेयर, बाढी तथा आगलागी पहिचान प्रणाली, वायु गुणस्तर अनुगमन, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ लगायतका परियोजनाले विशेष ध्यान आकर्षित गरे । प्रतियोगितामा विभिन्न विधामा १२ राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग (सिनियर/जुनियर) का विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।
उत्कृष्ट प्रदर्शन गर्ने ३५ परियोजना आगामी मे १६–१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा हुने अन्तर्राष्ट्रिय ‘कोडभर ७.०’ प्रतियोगिताका लागि छनोट भएका छन्, जहाँ ५० भन्दा बढी देशका विद्यार्थी सहभागी हुनेछन् ।





Comments are closed.