काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले वैदेशिक शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीको सुरक्षित भविष्य सुनिश्चित गर्न, पारदर्शिता कायम राख्न र व्यावसायिक जिम्मेवारीलाई उच्चतम स्तरमा पालन गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ । संघ मुनाफा रहित, गैर–सरकारी संस्था हो र यसको मुख्य उद्देश्य सदस्य संस्थाहरूको हकहित तथा व्यवसायिक सफलताको लागि सहजीकरण गर्नु हो ।
संघले स्पष्ट पारेको छ कि परामर्शदाताले केवल सहजीकरणको भूमिका निभाउँछन् र विदेश अध्ययनका लागि राज्यले जारी गरेको अनुमति प्रणाली अन्तर्गत मात्र काम गर्छन् । यदि कुनै कन्सल्टेन्सीले भ्रामक सूचना दिएको वा अवैध कलेज सिफारिस गरेको प्रमाणित भएमा मात्र सम्बन्धित संस्था जिम्मेवार हुनेछ, तर विद्यार्थीको व्यक्तिगत निर्णय वा परिस्थितिको पूर्ण दोष कन्सल्टेन्सीमा लगाउनु कानुनी दृष्टिले न्यायसंगत छैन ।
संघका अनुसार, संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली विद्यार्थीका लागि पहुँचयोग्य र उच्च सम्भावनायुक्त शैक्षिक गन्तव्य बनेको छ । यस क्षेत्रमा वैध रूपमा काम गर्ने परामर्शदाता सदस्यहरूलाई अनावश्यक दोषारोपण गर्नु, वा प्रशासनिक समस्या लिएर आपराधिक आरोपमा राख्नु अनुचित छ। संघले राज्य, नियामक निकाय, राजदूतावास तथा सम्बन्धित शैक्षिक संस्था बीच समन्वय आवश्यक रहेको जोड दिंदै, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया पालन गर्न माग गरेको छ ।
नेपाल शैक्षिक परामर्श संघले आफ्ना सदस्य संस्थाहरूलाई उच्च व्यावसायिक नैतिकतासहित काम गर्न प्रेरित गर्दै आएको छ। संघले आचारसंहिता, स्पष्ट शुल्क संरचना, लिखित सेवा सम्झौता र पारदर्शी सञ्चालनमार्फत विद्यार्थी र अभिभावकको हक सुरक्षित गर्ने प्रणाली लागू गरेको छ । साथै विद्यार्थी तथा अभिभावकका सम्भावित गुनासो समयमै समाधान गर्न आन्तरिक प्रभावकारी गुनासो समाधान संयन्त्र स्थापना गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण पौडेलले भने, “हामी केवल सदस्य संस्थाको नेतृत्व मात्र होइन, विद्यार्थीका सपनाको रक्षक पनि हौं । न्यायपूर्ण कानुनी प्रक्रिया र व्यावसायिक सम्मानका लागि अन्तिमसम्म साथमा रहने दृढ संकल्प हामी व्यक्त गर्छौं ।”
यसरी नेपाल शैक्षिक परामर्श संघले पारदर्शी, जिम्मेवार र सुरक्षित वैदेशिक शिक्षा परामर्श प्रणाली निर्माणमा निरन्तर नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ ।





Comments are closed.