काठमाडौं। नेपालमा डिजिटल ठेगाना प्रणाली विकास तथा सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रा.लि. ले आफ्नो “कताहो” एपमार्फत निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ।
निर्वाचन अवधिमा हुन सक्ने सम्भावित सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै आकस्मिक परिस्थितिमा सम्बन्धित व्यक्तिले आफ्ना परिवार वा आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सकून् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कुनै अप्रत्याशित घटना वा असहज अवस्थामा प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखिएको आपतकालीन (Emergency) सम्पर्कमार्फत तुरुन्त सूचना पठाउन सक्नेछन्। सो सूचनासँगै साइरनसहितको सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगाना (लोकेसन) सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको छ। भीडभाड, होहल्ला वा फोनमार्फत प्रत्यक्ष रूपमा बोल्न नसकिने अवस्थामा यो सुविधा प्रभावकारी हुने विश्वास लिइएको छ।
हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरमा आपतकालीन सन्देश पठाउन सक्ने सुविधा उपलब्ध छ। सेवा प्रयोग गर्न एन्ड्रोइड वा एप्पल स्टोरबाट “कताहो” एप डाउनलोड गरी जिमेल र मोबाइल नम्बरमार्फत ओटीपी प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि मेनुमा गई आफन्त वा टिम लिडरको नम्बरलाई आपतकालीन सम्पर्कका रूपमा राखेपछि सुविधा तुरुन्त प्रयोग गर्न सकिनेछ।
यस सुविधा प्रभावकारी रूपमा सञ्चालन हुन दुवै पक्ष “कताहो” एपमा दर्ता भएको हुन आवश्यक रहेको कम्पनीले स्पष्ट पारेको छ।
स्मरणीय छ, “कताहो” एपले विश्वस्तरको WSIS अवार्ड, एसियाली स्तरको APICTA अवार्ड तथा नेपालको प्रतिष्ठित ICT अवार्ड लगायत विभिन्न सम्मान प्राप्त गरिसकेको छ। नेपालमै विकसित यस डिजिटल समाधानलाई अधिकतम रूपमा उपयोग गरी सुरक्षित तथा व्यवस्थित सेवा लिन कम्पनीले सबैमा अनुरोध गरेको छ।






Comments are closed.