काठमाडौं । वैश्विक मोटर इन्स्योरेन्सको प्रिमियम निरन्तर बढिरहेको छ र आगामी पाँच वर्षसम्म यो क्रम जारी रहने अनुमान गरिएको छ । क्वाइनलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बढ्दो माग र उच्च लागतका कारण मोटर इन्स्योरेन्स प्रिमियममा वृद्धि देखिएको हो ।
प्रतिवेदनले सन् २०२६ मा वैश्विक कार इन्स्योरेन्स बजार २.१३ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरेको छ । वार्षिक औसत ६.०५ प्रतिशत वृद्धिदरका आधारमा यो बजार सन् २०३१ सम्म २.८६ ट्रिलियन डलर पुग्ने अनुमान छ ।
त्यसैगरी, वैश्विक मोटर इन्स्योरेन्स बजार सन् २०२५ मा ९७६.१ अर्ब डलर रहेकोमा सन् २०३४ सम्म १.७५ ट्रिलियन डलर पुग्ने आँकलन गरिएको छ । सन् २०२६ पछि यो क्षेत्र वार्षिक औसत ६.७ प्रतिशत दरले विस्तार हुने प्रक्षेपण गरिएको छ ।
बीमा उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग पनि तीव्र रूपमा बढिरहेको छ । अन्डरराइटिङ र दाबी व्यवस्थापनमा एआईको प्रयोग विस्तार हुँदै गएको छ। सन् २०२६ मा बीमा क्षेत्रमा एआई प्रयोगबाट हुने आम्दानी २६.३ अर्ब डलर पुग्ने र सन् २०३१ सम्म ११४.५२ अर्ब डलर नाघ्ने अनुमान गरिएको छ, जसको वार्षिक वृद्धिदर ३४.२ प्रतिशत रहनेछ।
उद्योग सर्वेक्षणअनुसार ठूला बीमा कम्पनीहरूले अन्डरराइटिङ र दाबी प्रक्रियामा एआई उपकरणहरू परीक्षण तथा कार्यान्वयन गरिरहेका छन्। एआईबाट सञ्चालित भर्चुअल एजेन्ट र च्याटबटहरूले प्रारम्भिक दाबीसम्बन्धी ग्राहक सम्पर्कको ६० देखि ८० प्रतिशतसम्म व्यवस्थापन गरिरहेका छन् ।
यस्तै, टेलिमेटिक्स प्रविधिको विस्तारसँगै प्रयोगमा आधारित बीमा (Usage-Based Insurance) पनि तीव्र रूपमा बढिरहेको छ । विश्वव्यापी प्रयोगमा आधारित बीमा बजार सन् २०३० सम्म करिब २४३.३२ अर्ब डलर पुग्ने र वार्षिक २३.१ प्रतिशत दरले वृद्धि हुने अनुमान गरिएको छ ।



Comments are closed.