पुल्चोकमा मेटलाइफको नयाँ हेड आफिस उद्घाटन

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड आफिस उद्घाटन गरेको छ । नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि हो ।

नयाँ हेड आफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्दछ ।
आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो केवल भौतिक विस्तार मात्र नभई प्रत्येक ग्राहकसँगको अन्तरक्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति पनि हो । मेटलाइफ नेपालले नयाँ हेड आफिसको वास्तविक मूल्य यसबाट प्रवाह हुने सेवाको गुणस्तरले निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ ।

नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । उद्घाटन समारोहका अवसरमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको थियो ।

समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स श्री स्कट अर्बोम र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशील देव सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । साथै मेटलाइफका क्षेत्रीय नेतृत्व लिन्डन ओलिभर (एशिया क्षेत्रीय अध्यक्ष) र  एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख) पनि कार्यक्रममा सहभागी थिए ।

यस अवसरमा नेपाल बीमा प्राधिकरण, संयुक्त राज्य अमेरिकी दूतावास, एमच्याम नेपाल, साझेदार बैंकहरू, लघुवित्त संस्थाहरू, मेटलाइफको व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मेटलाइफ एशियाका क्षेत्रीय अध्यक्ष  लिन्डन ओलिभरले भने ,“यो नयाँ प्रधान कार्यालयको उद्घाटन हामी सबैका लागि गर्वको क्षण हो, जसले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ ।

आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो नयाँ अध्याय हो, जहाँ सेवा, सहजता र हेरचाहलाई विशेष प्राथमिकता दिइएको छ । यस यात्रामा साथ दिनुहुने नियामक निकाय, साझेदार तथा समुदायप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र आगामी दिनमा अझ आत्मविश्वासी भविष्य निर्माण गर्न सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्छौं ।”

मेटलाइफ आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो ।

सन् १८६८ मा स्थापित भएकोमेटलाइफ , विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।

मेटलाइफको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

 

You might also like

Comments are closed.