प्लम्बिङ तालिममार्फत युवालाई उद्यमशील बनाउँदै लेउवासंघ

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा प्लम्बिङ तालिम सुरु भएको छ । सोमबार सुरु भएको तालिम ३ महिनासम्म चल्नेछ । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटनका अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवालाई स्वरोजगार, उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । ‘स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने हामीले विश्वास गरेका छौं,’ उनले भनिन् । पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ‘एड्भान्स्ड’ तालिम दिने योजना रहेको उनले बताइन् ।

तालिममा राज्य र निजी क्षेत्रको समेत लगानी रहेको बताउँदै यसको सहि सदुपयोग गर्न लगनशील भएर सीप सिक्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी थिइन् । कार्यक्रममा व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सिप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने बताए । व्यावसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखि नै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै सिप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएको समेत संघले अनुगमन गर्ने बताएका थिए । हातमा सिप भएर पनि कोही दक्ष व्यक्ति बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा समेत संघले सहयोग गर्ने वताएका थिए ।

संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशील, रोजगारयुक्त र क्रियाशील बनाउने वताउँदै सक्रियताका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरेका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।

You might also like

Comments are closed.