चितवन महिला उद्यमीलाई कर सम्बन्धी तालिम

चितवन । चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम आयोजना गर्यो । २ दिन चलेको तालिम मंलबार सम्पन्न भएको छ ।

महिला उद्यमहरुलाई आयकर तथा मूल्य अभिवृद्धि कर लगायत मिसम्याच एवं करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको संघले जनाएको छ । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवं GIZ RSRSD को प्राविधिक सहयोगमा कृष्णपुर स्थित चितवन होलिडे पार्टी भेनुको सभाहलमा भएको थियो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले करका नीति नियम तथा कर सम्बन्ध कार्यमा व्यवसायीलाई सहज गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सम्बन्धी व्यवसायीहरुले जानेको छैन भनेर छुट नहुने भन्दै उनले यस्ता किसिमका प्रशिक्षण कार्यक्रमले व्यवसायीहरुलाई फाइदा हुने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन सहित औपचारिक कार्यक्रम समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महिला उद्यमशीलता विकासका लागि चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुको मागका आधारमा अन्य तालिम उपलब्ध गराउन सधै तयार रहेको बताए ।

तालिममा सिए विमन कार्की र विकास तिवारी, सिए विशाल भट्टराई र सिए कविता चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए । तालिममा ८० जना महिला उद्यमीको सहभागिता थियो ।

तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षद्वय नारायण प्रधान, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्यसमिति सदस्यहरु लगायत महिला उद्यमीहरुको सहभागिता थियो । संघले यस वर्ष पनि करदातालाई करदाता शिक्षा लगायतका कार्यक्रमहरुलाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.