‘अटोमोवाइल क्षेत्रका समस्या सामाधनका लागि नाडासँग सहकार्य गर्छौ’

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका  मुख्यमन्त्री इन्द्रवहादुर बानियासंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ ।

सो भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिदै कार्यकालको सफलताको कामना समेत गरे । सोही क्रममा मुख्यमन्त्री बानियाले ५० बर्ष पुगेको नाडासंग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रसंशा गरे ।

सो छलफलको क्रममा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरु रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनु पर्ने धारणा राखे । ‘अटोमोवाइल क्षेत्रका समस्या सामाधनका लागि नाडासँग सहकार्य गर्छौ, उनले भने ।’ यसैक्रममा मुख्यमन्त्री बानियाले देशका लागि आवश्यक हुने जनशक्ती तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाविच सहकार्य गरेर अघि बढन सकिने धारणा राखे ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य कम्पनीहरु रहेको बताउदै नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्व भन्दा बढीको लगानी रहेको बताए । सोही क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तीको आवश्यकता हुने जानकारी समेत दिए । यसैक्रममा अध्यक्ष उपे्रतीले नाडाले बागमती प्रदेश सरकारसंग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ त्यस विषयमा मोडालिटी तयारगरी पेश गरिने बताए ।

सोहि अवसरमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोवाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले शीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसंग हातेमालो गरेर अघि बढन चाहेको धारणा राखे ।

उक्त छलफलको क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तिव्रगतिले परिवर्तन भईरहेकोले त्यहि स्तर र प्रकारको प्राविधिक जनशक्ती उत्पादन गर्दे जानु पर्ने चुनौती रहेको, नाडाले यसका लागि परिस्कृत पाठयक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औल्याए ।

उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्धय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति रहेको थियो ।

 

You might also like

Comments are closed.