गण्डकी । कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाँझिदै गरेका वास्तविकतामा तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म भने कृषि जान्न र बुझ्न चाहने जो कोहीका लागि राम्रै पाठशाला बनेको छ ।
एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइने यस फर्ममा कुल २७ रोपनी क्षेत्रफलमा बहुप्रजातिका कृषिजन्य उत्पादन गरिदै आइएको छ ।
शिक्षण पेशामा लामो समय विताएका वासुराज कडरियाले आँफू पेशामा रहँदैदेखि सुरु गरेको कृषिकर्मलाई सेवा निवृत्त जीवनमा अझै सकृयताका साथ त्यसलाई व्यवस्थित गराउँदै लगेका हुन् । पहिला सामान्य रुपमा थालिएको उहाँको कृषिकर्म यतिखेर कडरिया एकिकृत कृषि फर्मका रुपमा अघि बढीरहेको छ । उहाँको फर्ममा पशुपालन, कुखुरा पालन, तरकारी तथा फलफूल खेतीहरू एकै साथ गरिदै आइएको छ ।
फर्ममा कडरिया र उनकी श्रीमती रामेश्वरी निरन्तर लागेका छन् नै एक जनाले नियमित रोजगारी समेत पाएका छन् । फर्ममा आवश्यकता अनुसार वार्षिक पाँच सय भन्दा बढीले रोजगारी पाइरहेको उनले बताए ।
कडरियामा कृषिमा केही गर्नुुपर्छ भन्ने भावना भने विद्यार्थी हुँदादेखि नै सुरु भएको हो । २०३५ सालमा स्थानीय कालिका माध्यमिक विद्यालयमा पढ्ने बेलामा बागबानी विषयको प्रयोगात्मक सिकाई घरमा नै गर्ने गरिन्थ्यो । त्यसै समयदेखि नै कृषिका विभिन्न प्रयोग गर्दै आउनुुभएका उहाँले अहिले भने एकिकृत कृषि फर्म मार्फत अरुका लागि पनि प्रेरणको स्रोत बनीरहेका छन् ।
सुरुमा ४ सय बोट सुन्तला र १ हजार ६ सय बोट कफिबाट सुरु गरिएको व्यवसायिक कृषिले उनलाई अन्ततः सफल कृषि व्यवसायी बनाएको हो ।
सुरुमा सुन्तला राम्रै उत्पादन भएपनि २०५२÷०५३ बाट सुन्तलामा रोग लाग्न थालेपछि त्यसको विकल्पमा केरा, अदुवा खेती आदि गरेको उनले अनुभव सुनाए ।आँफूले २०५३÷२०५४ सालतिर एक हजार ७०० धार्नीसम्म अदुवा उत्पादन गरेको अनुभव सुनाउँदै उनले त्यस क्रममा हलेदो खेती समेत गरेको बताए ।
त्यस्तै २०५४ र २०५५ सालतिर तीन रोपनी क्षेत्रफलमा जाली लगाएर खुल्ला रुपमा लोकल कुखुरा पालन गर्नुभएका कडरियाले झण्डै आठ सयसम्म कुखुरा पाले । तर ती ती कुखुराबाट त्यति फाइदा हुन सकेन । त्यस पछि एक हजार लेस कुखुरा पालेका उनले कोरोना महामारी पछि ती पनि हटाए । त्यस यता झण्डै दुई हजारको संख्यासम्म बोइलर कुखुरा पालन गरिरहेको उनले अनुभव सुनाए ।
कृषिका विविधतामा नयाँ नयाँ खोज र प्रयोग रुचाउने उनले पाँच वर्ष यता मेवा खेती थालेका छन् । “मैले यतिखेर फर्ममा मेवा सहित तीन तल्ले खेती गरिहेको छु”, उनले भने, “मेवा खेती, कुरिलो खेती हुँदै अदुवा तथा हलेदो खेती एकै साथ गरिहेको छु ।” उनको फर्ममा २५० बोट मेवा छन् भने ताइबान अम्बा एक सय बोट लगाइएको छ । फर्ममा परीक्षणका लागि ९० बोट बोधिचित्त पनि लगाइएको छ । उनको फर्ममा नासपति, आरु, लिची, कटहर, भुइँकटहर, आरु, कागती, किबी लगायत विभिन्न ५० प्रजातिका फलफूल रहेका छन् ।
त्यस्तै मौरीपालनदेखि पशुपालनसम्मका विविध कृषिका प्रयोगहरू फर्ममा गरिएको छ । पछिल्लो समयमा एकिकृत कृषिका विविधताको अवलोकनका लागि ठाउँ ठाउँबाट हेर्न र बुझ्न आउने क्रम पनि बढीरहेको छ । पछिल्ला वर्षमा बाँदरको समस्या भने गम्भीर रुपमा बढीरहेको उनले बताए । खेतबारीहरू बाँझिने क्रमले पनि खेती गरिएका ठाउँमा बाँदरको असर धेरै पर्न थालेको उल्लेख गर्दै उहाँले यस समस्याको उचित व्यवस्थापनतर्फ राज्यको चासो पुग्नु जरुरी रहेको बताए ।
हालै इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराको टोलीले फर्मको स्थलगत रुपमा अवलोकन गरेको छ । एगा सम्बद्ध पर्यटन व्यवसायी एवम् सञ्चारकर्मी सहितको ४० सदस्यीय टोलीले फर्ममा एकिकृत कृषिका विधितालाई एकै ठाउँमा अवलोकन गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले बताए ।
पर्यटनसँग कृषिजन्य उत्पादन प्रत्यक्ष जोडिने बताउँदै उहाँले पछिल्ला वर्षमा घुम्न आउने पर्यटकले स्थानीय उत्पादनका परिकारलाई जोड दिने गरेको बताए । पछिल्ला समयमा कृषि पर्यटन पनि पर्यटनको महत्वपूर्ण पाटो बनिरहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका मणिराज लामिछाने बताउछन् । कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ पोखरा र आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव, दाइँ महोत्सव, आलु महोत्सव आदि गरिदै आइएको उनले बताए । “कृषिजन्य उत्पादनलाई पर्यटनसँग प्रत्यक्ष जोड्न सकिन्छ”, उनले भने, “पछिल्ला वर्षमा कृषिसँगै जाडिएर इलाममा चिया पर्यटनको विकास भएको छ, चियान टिप्ने समयमा हेर्न र घुम्नका लागि मात्र पनि ठाउँ ठाउँबाट पर्यटकहरू पुग्ने गरेका छन् । ”रासस






Comments are closed.