एफएनसिसिआई निर्वाचनमा विदुर धमला : पदभन्दा कामलाई प्राथमिकता

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २९ र ३० गते काठमाडौँमा हुने महासंघको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ ।

यसैबीच, प्रतिष्ठित व्यवसायी एवं विभिन्न क्षेत्रमा सफल नेतृत्व गरिसकेका विदुर धमलाले वस्तुगत सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । बस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

बहुआयामिक व्यावसायिक अनुभव र स्पष्ट नीतिगत दृष्टिकोण भएका धमलालाई निजी क्षेत्रभित्र ‘सालीन र सक्षम’ उम्मेदवारका रूपमा हेरिएको छ ।

बहुआयामिक व्यावसायिक पृष्ठभूमि

काठमाडौँको नागार्जुन नगरपालिकामा जन्मिएका धमलाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनको व्यावसायिक यात्रा पर्यटन, बैंकिङ, आवास, उड्डयनदेखि निर्यातसम्म फैलिएको छ । उनी एस.बि. कम्पनी प्रा.लि. र बि.डि. हस्पिटालिटी एन्ड होटल लगायत १७ भन्दा बढी विभिन्न कम्पनीहरूमा आबद्ध छन् ।

विशेषगरी पर्यटन क्षेत्रमा उनले ठूलो लगानी गरिरहेका छन् । उनको लगानी रहेको ‘सरोवर प्रिमियम फाइभ स्टार होटल’ निर्माणाधीन छ । यो होटल उनको ड्रिम प्रोजेक्ट पनि हो । यसबाहेक हाउजिङ, एक्सपोर्ट र शिक्षा क्षेत्रमा पनि उनको बलियो उपस्थिति छ ।

संस्थागत नेतृत्व र अनुभव

धमलाले यसअघि पनि निजी क्षेत्रका विभिन्न छाता संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेपाल जग्गा तथा आवास महासंघको वरिष्ठ उपाध्यक्ष छन् । नेपाल उद्योग वाणिज्य महासंघको अर्वान डेभलपमेन्ट कमिटीको उपसभापति भएर उनले नीतिगत सुधारका लागि काम गरिरहेका छन् ।

नेपाल जग्गा तथा आवास संघ, काठमाडौंका निवर्तमान अध्यक्ष, एक्सिस डेभलपमेन्ट बैंकको पूर्व अध्यक्ष, एयर काष्ठमण्डपका पूर्व सञ्चालक, रोटरी क्लब अफ बागमतीको पूर्व अध्यक्ष लगायतको जिम्मेवारी उनले कुशलतापूर्वक बहन गरिसकेको अनुभव उनीसँग छ ।

पदभन्दा कामलाई प्राथमिकता

महासंघभित्र धमलालाई एक निस्वार्थी नेतृत्वका रूपमा चिनिन्छ । यसअघि पनि पटक–पटक अवसर आउँदा अन्य उम्मेदवारहरूलाई प्राथमिकता दिएर आफू ब्याक हटेका धमला यसपटक भने महासंघलाई आधुनिक र व्यवसायीमैत्री बनाउनुपर्ने संकल्पका साथ मैदानमा उत्रिएका छन् ।

‘महासंघलाई परिवर्तन गर्न आवश्यक छ । निजी क्षेत्रका समस्यालाई नजिकबाट बुझेको र नीतिगत स्पष्टता भएको नेतृत्वले मात्र अहिलेको प्रतिकुल परिस्थितिमा व्यवसायीलाई भरोसा दिन सक्छ,’ उनी भन्छन् ।

मुख्य प्रतिबद्धता र एजेन्डा

निजी क्षेत्रको सशक्त पैरवी : सरकार र निजी क्षेत्रबीचको पुल बनेर व्यवसायीमैत्री ऐन–नियम निर्माणमा पहल गर्ने ।

वस्तुगत सदस्यको हकहित : विभिन्न वस्तुगत संघहरूका विशिष्ट समस्या पहिचान गरी महासंघमार्फत तिनको समाधान खोज्ने ।

आधुनिक महासंघ : संस्थालाई ‘स्मार्ट शैली’ र प्रविधिमैत्री बनाउँदै समयसापेक्ष परिवर्तन गर्ने ।

दिगो आर्थिक विकास : शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता आधारभूत क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिने ।

सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय धमलाले भूकम्प लगायतका विपद्का समयमा राहत र उद्धारमा सक्रिय भूमिका खेल्दै आएका छन् । शिक्षित, दूरदर्शी र अनुभवी नेतृत्वको खोजी भइरहेका बेला धमलाको उम्मेदवारीले महासंघको निर्वाचनलाई थप अर्थपूर्ण बनाएको छ ।

You might also like

Comments are closed.