सुरेन्द्र पौडेल
काठमाडौं, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुसमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको प्रचार–प्रसारलाई तिब्र बनाइएको छ । मेला प्रचारप्रसारकै क्रममा संघको टोली राजधानी काठमाडौंमा आएको छ । मेलाको प्रचारप्रसारका क्रममा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा पत्रकार सम्मेलन गरिएको छ ।
राजधानीबासीलाई मेलामा सहभागी हुन पोखरा आउनका लागि पत्रकार सम्मेलनमार्फत निमन्त्रणा गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आउँदो पुस १८ देखि २८ गतेसम्म मेला हुँदैछ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दामु अधिकारीले पर्यटकीय नगरी पोखरामा आयोजना हुने मेलाको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरे । ‘बिगतका मेला महोत्सव भन्दा परिस्कृत ढंगले यस पटक मेला सञ्चालन गर्दैछौं,’ उनले भने, ‘भ्रमण वर्ष २०२०लाई समेत लक्षित गरी मेलाका गतिविधि हुनेछन् ।’
नेपाल उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन गर्दा प्रचारप्रसार राम्रो हुने र महासंघ र संघको सम्बन्ध पनि थप सुदृढ हुने उनले विश्वास व्यक्त गरे । महासंघको समेत संस्थापक रहेकाले पोखरा उद्योग वाणिज्य संघको छुट्टै गरिमा रहेको उनले बताए । ‘मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्छ,’ उनले भने ।
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा गण्डकी प्रदेशको राजधानी भएकाले संघले आयोजना गर्ने मेलाले विशेष महत्व राख्ने महासचिव अर्जुन पोखरेलले बताए । ‘पर्यटकीय गतिविधि बढ्नासाथ अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘मेलामार्फत उत्पादक र उपभोक्ताको सम्बन्ध विस्तार हुनेछ भने पर्यटन प्रवद्धन तथा पोखराको प्रचारप्रसारमा पनि टेवा पुग्नेछ ।’ मेलाको तयारीलाई तिब्र बनाउनुका साथै प्रायोजकहरुको खोजीमा आफूहरु जुटेको संघका वाणिज्य उपाध्यक्ष पवन प्रजापतीले बताए ।
नेपाल भरका उद्योग वाणिज्य संघले गर्ने मेला महोत्सवका बारेमा औद्योगिक व्यापार मेला संयोजक डिलासुन्दर श्रेष्ठले जानकारी गराएका थिए । २४ वटा संघहरुले मेला महोत्सव गर्ने गरेको बताउँदै उनले मेलाले वस्तुहरुको पहिचान र उद्यमशीलता विकासमा टेवा पुगेको बताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष उपस्थिति थियो ।
अँग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सवको समेत आयोजना गरिएकाले नयाँ वर्ष मनाउन पोखरा आउन संघले आग्रहसमेत गरेको छ । ‘लगानीको सम्वर्दनः उद्योग व्यवसायको प्रवद्र्धन’ उद्घोषसहित संघले नेपाल उद्योग वाणिज्य महासंघसहित विभिन्न संघ÷संस्थासँगको सहकार्यमा वर्षेनी मेलाको आयोजना गर्दै आइरहेको छ ।




Comments are closed.