काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔं अभियानको प्रयास’ संकल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ ।
दिवसको अवसरमा ललितपुरस्थित एसोसिएसनको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले नेपाली दूध तथा दुग्ध पदार्थको निर्यातमा ठूलो सम्भावना रहेको बताए । महासंघको निर्यात प्रवर्द्धन समितिका सभापतिसमेत रहेका श्रेष्ठले भने, ‘गर्मी मौसममा मोहीको खपत बढाउन सके यसले नेपाली दूधको खपतमा योगदान पु¥याउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ ।’
महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले मोही किसानको पसिनासँग जोडिएको वस्तु भएको चर्चा गर्दै यसको प्रवद्र्धनमा एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गरे । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले पछिल्लो समय मोहीप्रति उपभोक्ताको आकर्षण बढ्नु सुखद पक्ष भएको धारणा राखे ।
अभियान सफल भएकोमा अध्यक्षको खुसी
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मोही प्रवर्द्धन अभियान सफल भएकोमा खुसी व्यक्त गरे । हाल देशभर दर्जनौं कम्पनीले मोहीलाई आधुनिक प्याकेजिङ गरेर बिक्री सुरु गरिसकेको र आगामी दिनमा यो संख्या अझै बढ्ने उनले जानकारी दिए । एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले यो अभियानलाई निरन्तरता दिइने भन्दै सरकारले पनि यो दिवसलाई अपनत्व लिनुपर्ने माग गरे ।
५ हजार लिटर मोही निःशुल्क वितरण
दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका मुख्य चोक, अस्पताल र सार्वजनिक स्थलहरूमा गरी कुल करिब ५ हजार लिटर मोही निःशुल्क वितरण गरिएको छ । सातदोबाटोस्थित महानगरीय ट्राफिक कार्यालय लगायतका स्थानमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । एसोसिएसनको आह्वानमा सातै प्रदेशका स्थानीय डेरी उद्योगीहरूले पनि आ–आफ्नो क्षेत्रमा निःशुल्क मोही वितरण गरेका छन् ।
लुम्बिनीमा रक्तदान
लुम्बिनी प्रदेशमा भने स्वास्थ्य र सेवालाई जोड्दै विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीसँगको समन्वयमा बुटवलस्थित ब्लड बैंकमा १५७औं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
टेलिसरियलका कलाकारहरूले मनाए मोही दिवस
यसैबीच, ‘सौता मेरी बहिनी टेलिसरियल’का कलाकारहरूले सुटिङ स्पोर्टमै मोही दिवस मनाएका छन् । मोही प्रवर्द्धन गर्ने उद्देश्यले कलाकारहरुले दिवस मनाएको एसोसिएसनका नुवाकोट जिल्ला अध्यक्ष समेत रहेका कलाकार दिपक ढुङ्गानाले जानकारी दिए । मोही पिएर दिवस मनाउन पाउँदा खुसी लागेको टेलिसरियलका सहनिर्देशक तथा वरिष्ठ कलाकार शान्ति सापकोटाले बताइन् ।
यसैबीच देशभर मोही दिवसमा विविध कार्यक्रम भएको एसोसिएसनले जनाएको छ ।
स्वदेशी उत्पादन प्रयोग गर्न अपिल
नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी र कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आह्वान गरेको छ । ‘मोहीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगिनु हो,’ विज्ञप्तिमा भनिएको छ । एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक उत्सवहरूमा अनिवार्य रूपमा मोही प्रयोग गर्न सबैमा हार्दिक अपिल समेत गरेको छ ।






Comments are closed.