चितवन । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि ‘चितवन अटो शो’ हुने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा अटो शो हुन लागेको हो ।
भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्नेछ । अटो शोको तयारीलाई तीव्र पारिएको कार्यक्रम संयोजक राजन पियाले जानकारी दिए । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका पियाका अनुसार चितवनमा हुने अटो शोले अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधिहरूलाई नजिकबाट अवलोकनको अवसर प्रदान गर्नेछ ।
अटो शोमा नेपालमा बिक्री वितरण भइरहेका प्राय सबै ब्राण्डलाई एकै थलोमा प्रदर्शनी गरिनेछ । चार पाँग्रे, दुई पाँग्रे, हेभी कमर्सियल सवारी साधनहरू, अटोमोबाइलका विभिन्न कम्पोनेन्टहरू, बैंक तथा वित्तीय संस्थाहरू र इन्स्योरेन्स कम्पनीहरूको स्टल राखिनेछ । करिब १०० वटा स्टल रहने पियाले जानकारी दिए ।

‘अटोमोबाइल व्यवसायको क्षेत्रमा भएका नवीनतम प्रविधिलाई एकै ठाउँमा अवलोकन तथा अध्ययन गर्न चितवन अटो शो महत्वपूर्ण प्लेटफर्म हुनेछ,’ पियाले भने । अटो शोलाई लक्षित गरी कम्पनीहरुले आकर्षक अफरहरुसमेत ल्याउने तयारी गरेका छन् ।






Comments are closed.