‘चितवन अटो शो’का लागि स्टल बुकिङ खुल्ला

चितवन । चितवनमा सवारी साधन र अटोमोबाइल प्रविधिको वृहत प्रदर्शनीको तयारी तिब्र बनाइएको छ । ‘चितवन अटो शो २०२६’ को तयारीका क्रममा स्टल बुकिङ खुल्ला गरिएकोछ । चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा वैशाख १७ गतेदेखि २१ गतेसम्म अटो शो हुनेछ ।

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शोले अटोमोबाइल क्षेत्रमा भित्रिएका पछिल्ला नवीन प्रविधिहरूलाई आम उपभोक्तामाझ पु¥याउने लक्ष्य राखेको छ । चितवन उद्योग संघको ५० हजार स्क्वायर फिटमा फैलिएका तीनवटा अत्याधुनिक वातानुकुलित हलहरुमा अटो शो हुनेछ ।

अटो शोमा करिब १०० वटा स्टलहरू रहनेछन् । नेपालमा उपलब्ध प्रायः सबै ब्राण्डका दुई पाँग्रे, चार पाँग्रे र हेभी कमर्सियल सवारी साधनहरूको प्रदर्शनी, अटोमोबाइल कम्पोनेन्टहरू, बैंक तथा वित्तीय संस्थाहरू र इन्स्योरेन्स कम्पनीहरूको समेत विशेष उपस्थिति रहनेछ ।

कार्यक्रम संयोजक राजन पियाका अनुसार अटो शोको तयारीलाई तीव्र पारिएको छ । ‘अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधिलाई एकै थलोमा अवलोकन र अध्ययन गर्न यो अटो शो महत्वपूर्ण प्लेटफर्म हुनेछ,’ उनले भने ।

अटो शोलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले आकर्षक अफरहरू समेत सार्वजनिक गर्ने तयारी गरेका छन् । चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसीले अटो शोका लागि स्टलहरू बुकिङ खुल्ला गरिएको जानकारी दिदै समयमा नै बुकिङ गर्न आह्वान गरेका छन् । समयमै आफ्नो स्टल सुरक्षित गरी व्यवसाय प्रवर्द्धन गर्न समस्त अटोमोबाइल्स व्यवसायीहरूलाई उनको अनुरोध छ ।

अटोमोबाइल बजारलाई अटो शोले थप चलायमान बनाउने र उपभोक्तालाई नयाँ प्रविधिसँग जोड्ने विश्वास आयोजकको छ ।

You might also like

Comments are closed.