काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान र विगतमा सरकारसँग भएको समझदारी कार्यान्वयनका लागि देशव्यापी ‘जनप्रतिनिधि दबाब अभियान’ सुरु गरेको छ । महासंघले हालै एक विशेष कार्यक्रम आयोजना गरी ७७ वटै जिल्लाका सांसदहरूलाई आफ्नो मागप्रति ध्यानाकर्षण गराउने अभियानको औपचारिक शुभारम्भ गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद खगेन्द्र सुनारले सुनचाँदी व्यवसाय हाल अत्यन्तै कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई एकताबद्ध भएर हकअधिकारका लागि लड्न आग्रह गरे । ‘यो व्यवसायीहरूको अन्तिम संघर्ष हो। कानुनी जटिलता समाधानका लागि म आफैँ प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गर्नेछु’ उनले भने । उनले व्यवसायीका समस्यालाई सदनमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
महासंघका अध्यक्ष किसान सुनारले सुनचाँदीको बढ्दो मूल्य र सरकारले लगाएको ८८२ प्रतिशत बिलासिता करले व्यवसायलाई धराशयी बनाएको बतए । ‘हामीले पटक–पटक कार्यविधि र मस्यौदा तयार पारेर बुझाउँदा पनि सरकारले सुनुवाइ गरेको छैन। गत सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन गराउन अब हामी ७७ वटै जिल्लाका निर्वाचित सांसदहरूमार्फत दबाब सिर्जना गर्नेछौँ,’ उनले भने ।
महासंघले यो अभियान अन्तर्गत देशभर दबाब कार्यक्रम गर्ने अध्यक्ष सुनारले जानकारी दिए । ७७ वटै जिल्लाका स्थानीय संघमार्फत सम्बन्धित सांसदहरूलाई ज्ञापन पत्र बुझाउने, व्यवसायका समस्याबारे सांसदहरूसँग अन्तरक्रिया र छलफल गर्ने, सदनमा सुनचाँदी क्षेत्रका समस्याबारे आवाज उठाउन दबाब दिने महासंघको योजना छ ।

विगतको आन्दोलनपछि सरकार र महासंघबीच भएको १२ बुँदे सहमति अझै कार्यान्वयन नभएकोमा व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् । महासंघले यसअघि नै महासंघको टोलीले अर्थमन्त्री र आन्तरिक राजश्व विभागलाई भेटेर ध्यानाकर्षण गराइसकेको महासचिव नीर बहादुर धमला (बिमल)ले जानकारी दिए ।






Comments are closed.