काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो पदभार औपचारिक रूपमा सुरु गरेका छन् । शनिबार आयोजित एक विशेष समारोहमा ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलम समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । ढकाल सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्षेत्रीय विकास र व्यापारमा जोड
कार्यभार सम्हालेपछि अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रको आर्थिक समृद्धि, व्यापार प्रवर्द्धन र क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने दिशामा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदस्य राष्ट्रहरूबीचको व्यावसायिक सम्बन्धलाई थप उचाइमा पु¥याउन आफ्नो कार्यकाल फलदायी हुने विश्वास दिलाए ।
कार्यसमितिमा नेपालको बलियो उपस्थिति
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालबाट २१ जना उद्यमी व्यवसायीहरूले सार्क चेम्बरको कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् ।
उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ), सदस्यहरूमा उमेशलाल श्रेष्ठ (पूर्व उपाध्यक्ष, महासंघ), हेमराज ढकाल (वस्तुगत तर्फका उपाध्यक्ष, महासंघ), ज्योत्सना श्रेष्ठ (एसोसिएट तर्फका उपाध्यक्ष, महासंघ) छन् ।
यस्तै अन्य कार्यकारी समिति सदस्यहरूमा देशबन्धु बस्नेत (अजित), अविनाश बोहरा, गोपाल खनाल, पशुपति देव पाण्डे, रामशरण थपलिया र विमल ढकाल (अध्यक्ष, एम्बासडर क्लब नेपाल) मनोनयन भएका छन्।

सार्क चेम्बरको साधारण सभा सदस्यहरूमा भक्तबहादुर हमाल, प्रभात रुंगटा, सुनिल नारायण श्रेष्ठ, आरएस भण्डारी, बच्चु पौडेल, बसन्ती प्रधान, डा. रामबाबु गिरी, अवा शाह, आशीष ढकाल र प्रकाश घिमिरे छन् ।
नेपाली उद्योगीको यो उच्च तहको नेतृत्वले दक्षिण एशियाली क्षेत्रमा नेपालको व्यावसायिक छवि र लगानीको वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






Comments are closed.