चितवन । चितवनमा अटोमोबाइल्स क्षेत्रको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले यही वैशाख १७ गतेदेखि २१ गतेसम्म ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको यो अटो शोको दोस्रो संस्करण हो ।
चितवन अटोमोवाइल डिलर्स एसोसिएसन र चितवन अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शोलाई सफल बनाउन भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहयोग गरेका छन् ।
अटो शोमा साना तथा ठूला गरी विभिन्न ब्राण्डका कार, जीप, मोटरसाइकल र स्कुटरहरूका ७५ वटा स्टल रहनेछन् । साथै, बैंक तथा इन्स्योरेन्स कम्पनीहरूका स्टल पनि रहनेछन्, जहाँ ग्राहकले ‘अन द स्पट’ फाइनान्स र इन्स्योरेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।
अटो शोमा पुराना ‘भिन्टेज’ गाडी र महँगा ‘बिग बाइक’को प्रदर्शनी गरिनेछ । यसका साथै मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस ¥याली जस्ता खेलकुद गतिविधि र स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ ।
अटो शोको तेस्रो दिन विज्ञहरूद्वारा ‘अटो सेमिनार’ र चौथो दिन विद्यार्थी तथा अभिभावकहरूका लागि ‘हेल्मेट प्रयोगको सचेतना एवं अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण’ कार्यक्रम राखिएको छ ।

गाडी खरिद गर्ने ग्राहकलाई विशेष छुट र आकर्षक स्किमका साथै, अवलोकनकर्ताहरू मध्येबाट ३ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिनेछ । सामाजिक सञ्जाल (इन्स्टाग्राम, टिकटक, फेसबुक रिल) मा बढी भ्युज र शेयर हुनेलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।
अटो शोको माध्यमबाट विद्युतीय सवारी (इभी) र नवीन प्रविधिबारे उपभोक्तालाई जानकारी दिने, सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने र अर्थतन्त्रमा सकारात्मक ऊर्जा थप्ने मुख्य लक्ष्य रहेको संयोजक राजन पियाले जानकारी दिए ।
करिब १० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको अटो शोमा ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको पियाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
अटो सोलाई सफल बनाउन महिन्द्राले मुख्य प्रायोजन गरेको छ भने एमजीले सह–प्रायोजक गरेको छ ।
सम्पूर्ण उद्योगी, व्यवसायी एवं सरोकारवाला निकायहरूलाई अटो शोलाई सफल पार्न आयोजकले अपिल गरेका छन् ।
चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसी र चितवन अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईन्द्रप्रसाद रेग्मीले चितवनसहित समग्र देशको अटोमोबाइल व्यवसायको प्रवर्द्धनमा चितवन अटो शोले सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे । दुई संस्थाले संयुक्त आयोजना गर्दा अटो शोको गरिमा बढेको तथा अटो शो भव्य बनाउन आफूहरु लागिरहेको उनीहरुले बताए ।






Comments are closed.