उद्योगी व्यवसायीलाई एआई तथा डिजिटल मार्केटिङसम्बन्धी अभिमुखीकरण

भरतपुर । चितवन उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सूचना, सञ्चार तथा प्रविधि दिवस २०८३ को अवसरमा चितवन उद्योग वाणिज्य संघ र कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको सयुक्त आयोजनामा  AI & Digital Marketing  सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रम वर्तमान समयमा एआईको प्रयोग बाट डिजिटल मार्केटीङ कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना प्रविधि विकासको मेरुदण्ड भएको बताउँदै उनले सूचना प्रविधिको विकल्प हामीले सोच्न सक्दैनौ र यसको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताउँदै सूचना प्रविधि अहिले नराम्रो कुरामा पनि विकास भएको र यस्तो समस्या समाधानमा हामी अव लाग्नुपर्ने बताएका थिए ।

चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेकोमा यस वर्ष देखि सूचना प्रविधिलाई पनी विकासको पूर्वधारको रुपमा अगाडी सारेको बताए । उनले उद्योग व्यवसाय पनि अहिलेको प्रतिस्पर्धात्मक समयमा प्रविधिसँग जोडिन र प्रयोग गर्न आग्रह गर्दै सूचना प्रविधिका माध्यमले व्यवसाय प्रवद्र्धन गर्न सहज हुने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सूचना प्रविधिले डिजिटल मार्केटिङ गर्न सहज बनाएको भएता पनि साईबर हमलाको घटना बढ्दै गईरहेकोले त्यस सम्बन्धी नीति नियमहरुको बारेमा समेत सबैले जान्नुपर्ने आजको आवश्यकता भएको बताए।

कार्यक्रममा बोल्दै क्यान नेपाल केन्द्रीय सदस्य भानु शर्माले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताउदै नेपालमा सूचना प्रविधिको विकासको क्रमका बारेमा बताएका थिए ।

कार्यक्रममा डिजिटल मार्केटिङ सम्बन्धी प्रा.डा.हरी भण्डारीले प्रस्तुतिकरण दिएका थिए भने एआई सम्बन्धी डा. लोकेश गुप्ताले प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघको उपाध्यक्षद्वय नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य, क्यान चितवनका पदाधिकारी कार्यसमिति, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु लगायत उद्योगी व्यवसायी गरी ६० जनाको सहभागिता रहेको चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

कार्यक्रम कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेको अध्यक्षता एवम् उपाध्यक्ष रुपक नेपालले धन्यबाद ज्ञापन सहित समापन गरेको कार्यक्रम सचिव कृष्ण पोखरेलले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.