काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको ‘१२औँ वार्षिक साधारण सभा तथा बिजनेस म्याचिङ कार्यक्रम–२०८३’ शनिबार काठमाडौंको होटल म्यारियटमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्म राज आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले नेपाली मौलिक गहनाको प्रवद्र्धन र संवद्र्धनमा जोड दिएका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्देम्बेले नेपाली कला र संस्कृतिसँग जोडिएका मौलिक गहनाहरू नै हाम्रो पहिचान भएको बताए । ‘हाम्रा कालिगढहरूको सीपलाई कदर गर्दै नेपाली मौलिक गहनालाई विश्वबजारसम्म पु¥याउन आवश्यक छ । निजी क्षेत्रको विकासका लागि म व्यक्तिगत र राजनीतिक तवरबाट सधैं पहल कदमी लिनेछु,’ उनले भने ।

महासंघका अध्यक्ष किसान सुनारको सभापतित्वमा भएको कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्याबारे छलफल भएको थियो । अध्यक्ष सुनारले सरकारसँग गरिएको १२ बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न माग गरे । व्यवसाय सञ्चालनमा बाधक रहेका पुराना ऐन नियमहरूलाई समयसापेक्ष संशोधन गरिनुपर्ने, सरकारले करको दर बढाउनुभन्दा पनि करको दायरा विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘व्यवसायीहरूका समस्या समाधानका लागि सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भूमिका खेल्नुपर्छ,’ उनले भने ।

साधारण सभासँगै आयोजित ‘बिजनेस म्याचिङ’ कार्यक्रममार्फत आभूषण क्षेत्रको प्रवद्र्धन, व्यावसायिक सहकार्य विस्तार तथा नयाँ अवसरहरूको खोजीका सन्दर्भमा छलफल गरिएको महासंघले जनाएको छ ।

महासंघका महासचिव निर बहादुर धमलाले कार्यक्रम सञ्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए । महासंघको बन्द सत्रमा महासंघका भावी योजना, सांगठनिक गतिविधि र व्यवसायीका हकहितका विषयमा विस्तृत छलफल गरिएको महासचिव धमलाले जानकारी दिए ।






Comments are closed.