‘चितवन अटो शो २०२६’ आयोजना भइरहेको छ । अटो शो कस्तो भइरहेको छ ?
हामीले भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा ‘चितवन अटो शो २०२६’ आयोजना गरेका छौं । दोस्रो संस्करणको चितवन अटो शोको वैशाख १७ गते सुरु भयो । २१ गते सकिदैछ । यो पटक हामीले चितवन अटोमोवाइल डिलर्स एसोसिएसन र चितवन अटोमोवाइल्स एसोसिएसन मिलेर संयुक्त रूपमा आयोजना गरेकाले पनि उत्साह निकै बढी छ । चारदिनसम्म दर्शकको उत्साहजनक उपस्थिति रह्यो । हामी पनि उत्साही छौं ।
अटो शोमा दर्शक र ग्राहकको प्रतिक्रिया कस्तो छ ?
यो केवल गाडीहरूको प्रदर्शनी मात्र होइन, अटोमोबाइल क्षेत्रको एउटा उत्सव पनि हो । नेपालमा चलेका प्राय सबै ब्राण्डहरु प्रदर्शनमा छन् । बैंक र इन्स्योरेन्स कम्पनीहरूका स्टलहरू पनि छन्, जसले गर्दा ग्राहकले ‘अन द स्पट’ फाइनान्स र इन्स्योरेन्स सुविधा पाउनुहुनेछ । एकै थलोमा धेरै ब्राण्डलाई नजिकबाट हेर्न पाउँदा दर्शकहरु खुसी हुनुहुन्छ । सकारात्मक प्रक्रिया प्राप्त भएको छ ।
अटोमोबाइल बजारमा अटोे शोको प्रभाव कस्तो रह्यो ?
देशको समग्र आर्थिक मन्दीको असर अटोमोबाइल क्षेत्रमा पनि परेको छ । तर, अटो शोले उपभोक्तामा आत्मविश्वास जगाउने काम गरेका छ । नयाँ प्रविधि, विशेष छुट र आकर्षक स्किमहरूका कारण गाडीहरुको बुकिङ पनि राम्रो छ । उत्साहजनक बुकिङले बजारमा सकारात्मक ऊर्जा थपेको छ ।

चितवनलाई अटोमोबाइल हबका रूपमा विकास गर्न अटो शोले थप योगदान गरेको मान्न सकिन्छ ?
चितवन भौगोलिक रूपमा देशको मध्यभागमा छ, जसले गर्दा यो व्यापारिक ट्रान्जिट प्वाइन्ट हो । हामीले यो अटो शोलाई निरन्तरता दिएर चितवनलाई देशकै प्रमुख अटोमोबाइल गन्तव्य बनाउन खोजिरहेका छौँ । यस पटक भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघको सहयोगले हामीलाई थप हौसला मिलेको छ । यो मेलाले चितवन लगायत समग्र देशको आर्थिक क्षेत्रलाई नै चलायमान बनाउन मद्दत पुगेको छ र पुग्नेछ ।
दुईवटा अटो एसोसिएसन मिलेर अटो शो आयोजना गर्नुको उद्देश्य बारे केही बताइदिनुहुन्छ कि ?
चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसी र चितवन अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईन्द्रप्रसाद रेग्मीसहित दुई वटै संस्थाको टिम अटो शोलाई भव्य बनाउन सक्रिय भइरहेको छ । दुई संस्थाको एकता र सहकार्यले कार्यक्रमको गरिमा बढाएको छ । हामी सबैको एउटै उद्देश्य भनेको अटोमोबाइल क्षेत्रको व्यावसायिक प्रवद्र्धन नै हो । हामी यही उद्देश्यका साथ दुवै संस्थालाई जोडेर अगाडि बढेका छौं ।






Comments are closed.