काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवालयमा एक विशेष कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष, पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई स्वागत तथा पारस्परिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बागमती प्रदेश महासंघका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई काठमाडौं संघको सचिवालयमा स्वागत गरिएको थियो ।
उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठले प्रदेश मातहतका हरेक संघहरूको समस्या बुझ्न र समाधानका उपायहरू पहिल्याउन यस्ता भेटघाट कार्यक्रमहरू तीव्र पारिएको जानकारी दिए । उनले महासंघले सधैं मातहतका संघ तथा त्यसमा आबद्ध उद्योगी-व्यवसायीहरूको हकहितका लागि कार्य गर्ने र उनीहरूका समस्या समाधानमा ठोस पहल कदमी लिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठले राज्य संयन्त्रबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने वा दुःख दिने काम हुन नहुनेमा जोड दिए । उनले महासंघलाई थप बलियो बनाउँदै सदस्यहरूको हकहित रक्षाका लागि प्रभावकारी रूपमा कार्य गर्न बागमती प्रदेश महासंघलाई सुझाव दिए । ‘राज्यले निजी क्षेत्रलाई दुःख दिने काम गर्नु हुँदैन । महासंघले आफ्ना सदस्यहरूको हकहितका लागि सदैव डटेर लाग्नुपर्छ,’ उनले भने ।

संघका अध्यक्ष रमानाथ श्रेष्ठको अध्यक्षतामा आयोजित छलफल तथा स्वागत कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, उपाध्यक्ष उज्ज्वल गंज शाह लगायत दुवै संस्थाका अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरू आआफ्नो धारणा राखेका थिए ।







Comments are closed.