अङ्किता भट्टराईले जितिन् लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता- सिजन ८’ को उपाधि

काठमाडौं । क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता -सिजन ८’ को उपाधि जितेकी छन् । काठमाडौंको होटल हार्दिकमा आज सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरबाट सहभागी ३११ विद्यार्थीलाई पछि पार्दै भट्टराई प्रथम भएकी हुन् । प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार द्वितीय र अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तृतीय भएका छन् ।

देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ विद्यार्थीबीच कडा प्रतिस्पर्धाका बीच टप २०, टप १० हुँदै अन्तिममा उत्कृष्ट तीन विद्यार्थीलाई विजेता घोषणा गरिएको थियो। विजेताहरूलाई एक लाख रुपैयाँ बराबरको ल्यापटप लगायतका अत्याधुनिक उपकरण तथा विशेष पुरस्कारहरू प्रदान गरिएको थियो। यसका साथै टप २०, टप १० र टप ३ मा पर्न सफल सम्पूर्ण विद्यार्थीलाई विशेष गिफ्ट ह्याम्परद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सूचना प्रविधि महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विजेतालाई बधाई दिँदै विद्यार्थीको प्राविधिक कौशलको प्रशंसा गरे। उनले भने, “डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण जग बसाल्ने गर्दछन्। आजका यी विद्यार्थीहरूले प्रदर्शन गरेको वेबसाइट निर्माणको सीप र तार्किक क्षमताले सूचना प्रविधिको क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको पुष्टि गर्छ। लाइफ कम्प्युटरको यो प्रयास प्रशंसनीय छ।”

कार्यक्रमकी अध्यक्ष तथा लाइफ कम्प्युटरकी म्यानेजिङ डाइरेक्टर लक्ष्मी खत्रीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक र विशिष्ट पाहुनाहरूलाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन्, ‘विद्यार्थीहरूमा प्रविधिको सकारात्मक प्रयोग र सिर्जनशीलता विकास गर्न हामी विगत आठ वर्षदेखि निरन्तर लागिपरेका छौँ। यो प्रविधिप्रतिको लगावलाई हामी आगामी दिनमा अझ व्यापक र सशक्त रूपमा निरन्तरता दिनेछौँ।’

यसका साथै, संस्थामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा यस वर्षको ‘बेस्ट स्टाफ अवार्ड’ एकजना स्टाफलाई प्रदान गरिएकेि छ । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए। विगत लामो समयदेखि आईटीको क्षेत्रमा क्रियाशील लाइफ कम्प्युटरले बागबजार, कुमारीपाटी र सोह्रखुट्टे शाखाबाट सफ्टवेयर विकास, वेब डिजाइन, यूआई/यूएक्स (UI/UX) डिजाइन तथा ग्राफिक मल्टिमिडिया जस्ता विषयमा व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ।

You might also like

Comments are closed.