पोखरादेखि दामोदर कुण्डसम्मको साहसिक धार्मिक यात्रा सम्पन्न

पोखरा । धार्मिक र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने विशेष धार्मिक तथा पर्यटकीय भ्रमण सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए), गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखराका पर्यटन व्यवसायीहरूको टोलीले यो यात्रा सम्पन्न गरेको हो । समुद्री सतहदेखि ५ हजार मिटरभन्दा बढी उचाइमा रहेका दुईवटा ठूला पहाड पार गर्दै टोली ४ हजार ९ सय मिटरको उचाइमा रहेको पवित्र दामोदर कुण्ड पुगेको थियो । असार २ गते मंगलबार पोखराको फेवातालस्थित तालबाराही मन्दिरबाट सुरु भएको यात्राका क्रममा टोलीले दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत दर्शन गरेको छ ।

असार ७ गते आइतबार यात्रा समापनका अवसरमा बोल्दै नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले दामोदर कुण्डसम्मको यात्रा निकै साहसिक र चुनौतीपूर्ण हुनुका साथै अत्यन्तै रोमान्चक रहेको बताए ।

‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि यो भ्रमण पूर्ण रूपमा फलदायी भएको छ । ५ हजार मिटरभन्दा माथिको उचाइ र भौगोलिक विकटताका कारण यो यात्रा जति चुनौतीपूर्ण थियो, उत्तिकै अविस्मरणीय र रोमान्चक पनि रह्यो । यस यात्राले पोखरा र माथिल्लो मुस्ताङको धार्मिक पर्यटनलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।

धार्मिक दृष्टिकोणले दामोदर कुण्ड महत्वपूर्ण गन्तव्य रहेतापनि पूर्वाधारको अभावले यात्रा कठिन रहेको उनले बताए । यात्रुहरूको लागि आवश्यक पर्ने आधारभूत सेवा सुविधा र पूर्वाधारमा तीनै तहको सरकारले चासो दिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, कार्यक्रम संयोजक एवं एनटिभीएका प्रथम उपाध्यक्ष विकास प्रसाद कँडेलले यात्रालाई सफल, सभ्य र अविस्मरणीय बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे । ‘यात्राका क्रममा अनेकौँ भौगोलिक र वातावरणीय चुनौतीहरू आइपरेका थिए । तर, ती चुनौतीहरूलाई धैर्य र समझदारीका साथ सामना गर्दै सबै सहभागीहरूले जुन सद्भाव, सहयोग र आत्मीयता देखाउनुभयो, त्यसैले यो यात्रा विशेष र सफल बन्यो,’ उनले भने ।

यात्रामा सहभागी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले दामोदर कुण्डले धार्मिक पर्यटनका दृष्टिकोणबाट राम्रो सम्भावना बोकेको बताए । ‘दामोदर कुण्डसम्म जाने तीर्थालुहरूको संख्या बढिरहेको देखियो,’ उनले भने, ‘यात्रामा जाने क्रममा सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।’

यसअघि यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउन महानगरले विशेष पहल गरिरहेको बताएका थिए ।

You might also like

Comments are closed.