यामाहाको ७१औँ वार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम हुँदै

पोखरा । यामाहा मोटरसाइकल तथा स्कुटरको पोखरास्थित आधिकारिक विक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यामाहाको ७१औँ वार्षिकोत्सवको अवसर पारेर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

कम्पनीका अनुसार रक्तदान कार्यक्रम असार १७ गते बुधबार बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म नयाँबजारस्थित यामाहा शोरुमको प्राङ्गणमा सञ्चालन हुनेछ । समाजमा रगतको बढ्दो आवश्यकता तथा अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक सरोज श्रेष्ठले व्यावसायिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफूहरूले समान प्राथमिकता दिँदै आएको बताए । ‘यामाहाको ७१औँ वार्षिकोत्सव केवल हाम्रो ब्रान्डको सफल यात्राको उत्सव मात्र नभई समाजप्रति हाम्रो उत्तरदायित्वलाई अझ सशक्त रुपमा अभिव्यक्त गर्ने अवसर पनि हो। रक्तदानजस्तो मानवीय अभियानमार्फत कसैको जीवन बचाउन सानो योगदान दिन पाउनु हाम्रो लागि गौरवको विषय हो,’ उनले भने ।

प्रबन्ध निर्देशक श्रेष्ठले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.