✍️ भूपेन बिके
केन्द्रीय सदस्य – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ
सचिव – नेपाल सुनचाँदी शिल्प व्यवसायी सङ्घ
नेपालमा सुनचाँदीका गहनाहरू केवल श्रृङ्गारका सामग्री मात्र होइनन , यी नेपाली समाजको संस्कृति, परम्परा, आर्थिक सुरक्षा तथा भविष्यका लागि गरिएको बचतका रूपमा पनि स्थापित छन्। आवश्यकता पर्दा धितो राख्न सकिने, नगदमा रूपान्तरण गर्न सकिने तथा पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण गर्न सकिने भएकाले सुनचाँदीप्रतिको नेपालीहरूको विश्वास अझ बलियो रहँदै आएको छ।
हालका वर्षहरूमा बजार प्रतिस्पर्धा बढ्दै जाँदा केही व्यवसायीहरूले ग्राहक आकर्षित गर्ने उद्देश्यले “ज्यालामा ५०% छुट”, “पोते–पत्थरमा ५०% छुट” जस्ता प्रचारात्मक नाराहरू प्रयोग गरिरहेको देखिन्छ। व्यापार प्रवर्द्धनका लागि प्रचारप्रसार गर्नु व्यवसायको स्वाभाविक अधिकार हो। तर कुनै पनि प्रचार वास्तविक लागत, गुणस्तर र मूल्य संरचनासँग मेल खाने हुनुपर्छ। अतिरञ्जित वा भ्रामक प्रचारले उपभोक्तामा गलत अपेक्षा सिर्जना गर्ने जोखिम रहन्छ। सुनको मूल्य कुनै एक पसल वा व्यवसायीले आफूखुसी निर्धारण गर्ने विषय होइन। नेपालको सुनको दैनिक मूल्य अन्तर्राष्ट्रिय बजार, विनिमय दर तथा सम्बन्धित निकायहरूको मूल्य निर्धारण प्रक्रियाका आधारमा तय हुन्छ। त्यसैले सुनको मूल्यमा अत्यधिक छुट दिइएको भन्ने दाबीलाई उपभोक्ताले विवेकपूर्ण रूपमा मूल्याङ्कन गर्नुपर्छ।
गहनाको मूल्य निर्धारणमा ज्याला ९निर्माण खर्च० अत्यन्त महत्त्वपूर्ण पक्ष हो। एउटा सुनको गहना तयार गर्न धेरै चरणहरूको प्रक्रिया पार गर्नुपर्छ। सुन पेल्ने, डाइस काट्ने, डिजाइन तयार गर्ने, विभिन्न भागहरू जोड्ने, पालिस गर्ने, कटिङ गर्ने, फिनिसिङ गर्ने तथा अन्तिम गुणस्तर परीक्षण गरेपछि मात्र गहना बिक्रीका लागि तयार हुन्छ। यी सम्पूर्ण प्रक्रियामा दक्ष कालीगढहरूको सीप, समय र श्रमको उचित मूल्य समावेश हुन्छ। साथै, उत्पादनका क्रममा हुने धातुको क्षति, औजार तथा उपकरणको खर्च, कारखाना र पसल सञ्चालन खर्च, कर्मचारी तथा स्टाफको तलब–भत्ता, ग्राहक सत्कारका लागि गरिने चिया, खाजा तथा अन्य सेवासम्बन्धी खर्च, कर तथा अन्य प्रशासनिक र व्यवस्थापन खर्चहरू पनि निर्माण लागतकै हिस्सा हुन्। त्यसैले गहनाको ज्याला निर्धारण केवल कालीगढको पारिश्रमिक मात्र नभई सम्पूर्ण उत्पादन र सेवा प्रक्रियासँग सम्बन्धित लागतहरूको समष्टिगत मूल्य हो।

यसरी हेर्दा, निर्माण प्रक्रियामा उल्लेखनीय लागत लाग्ने गहनामा “५०५ ज्याला छुट” भन्ने प्रचारले स्वाभाविक रूपमा प्रश्न उठाउँछ—के छुट वास्तविक हो, वा पहिले नै मूल्य बढाएर पछि छुट दिएको देखाइएको होरु यस्ता विषयमा उपभोक्ताले स्पष्ट जानकारी माग्नु र वास्तविक बिल तथा मूल्य विवरण बुझ्नु आवश्यक हुन्छ। त्यस्तै, पोते, पत्थर तथा अन्य सजावटी सामग्री पनि अधिकांश व्यवसायीले आफैं उत्पादन गर्ने होइनन्। ती विभिन्न उत्पादक वा आपूर्तिकर्ताबाट खरिद गरेर बिक्री गरिन्छ। त्यसैले यस्ता सामग्रीमा असाधारण छुटको दाबी गरिँदा त्यसको वास्तविक खरिद मूल्य, गुणस्तर र छुटको आधारबारे पनि उपभोक्ताले जानकारी लिनु उचित हुन्छ।
व्यवसायमा स्वस्थ प्रतिस्पर्धा आवश्यक छ। तर प्रतिस्पर्धा गुणस्तर, पारदर्शिता, उचित मूल्य, उत्कृष्ट सेवा र विश्वास का आधारमा हुनुपर्छ। अल्पकालीन बिक्री बढाउने उद्देश्यले गरिने भ्रामक प्रचारले दीर्घकालमा सम्पूर्ण सुनचाँदी व्यवसायप्रतिको उपभोक्ताको विश्वास कमजोर बनाउन सक्छ। विश्वास गुमेपछि त्यसलाई पुनः स्थापित गर्न निकै कठिन हुन्छ। उपभोक्ताले पनि आकर्षक छुटका नाराभन्दा गहनाको शुद्धता, तौल, बिल, मूल्यको पारदर्शिता, तथा व्यवसायीको विश्वसनीयता लाई प्राथमिकता दिनुपर्छ। मूल्यवान सम्पत्ति खरिद गर्दा क्षणिक आकर्षणभन्दा दीर्घकालीन सुरक्षा र विश्वास बढी महत्त्वपूर्ण हुन्छ। सुनचाँदी व्यवसायको दिगो विकास इमानदार व्यवसाय, पारदर्शी मूल्य प्रणाली र सचेत उपभोक्ता बीचको सुदृढ सम्बन्धमा निर्भर गर्दछ। त्यसैले व्यवसायीले जिम्मेवार प्रचारप्रसार गर्नुपर्छ र उपभोक्ताले पनि तथ्यका आधारमा निर्णय गर्नुपर्छ। सचेत उपभोक्ता र जिम्मेवार व्यवसायी नै स्वस्थ तथा विश्वसनीय सुनचाँदी बजारका आधारस्तम्भ हुन्।







Comments are closed.