नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (NEFFA) सन् १९९८ मा स्थापना भएको नेपालको वैदेशिक तथा आन्तरिक व्यापार सहजीकरण, पारवहन र लजिस्टिक क्षेत्रको राष्ट्रिय छाता संगठन हो । संस्थाका गतिविधि, वर्तमान चुनौती र भावी योजनाबारे संस्थाका अध्यक्ष राजेन्द्र संग्रौलासँग गरिएको कुराकानीको सम्पादित अंश :
नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन (NEFFA) को मुख्य भूमिका र परिचयलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
नेपाल फ्रेट फरवार्डरस एसोसिएसन नेपालका यातायात तथा लजिस्टिक सेवा प्रदायकहरूको एक गैर–राजनीतिक, गैर–नाफामूलक र गैर–सरकारी छाता संगठन हो । सन् १९९८ देखि हामी नेपालको वैदेशिक र आन्तरिक व्यापार सहजीकरणमा निरन्तर क्रियाशील छौँ । हाम्रो मुख्य काम सिमानाभित्र र बाहिर व्यापार सहजीकरणका लागि सरकार, निकासी–पैठारीकर्ता, अन्तर्राष्ट्रिय एजेन्सीहरू र दाता संस्थाहरूबीच समन्वय गर्नु हो । संस्थामा हाल १३७ साधारण र ११ आजीवन सदस्य हुनुहुन्छ । साथै, नेपालको वैदेशिक व्यापारमा लजिस्टिकको महत्वलाई उजागर गर्न हामी हरेक वर्ष जुलाई २९ लाई ‘नेपाल कार्गो दिवस’ (Nepal Cargo Day) को रूपमा मनाउँदै आएका छौँ ।
संस्थाको को मुख्य भिजन र उद्देश्यहरू के–के हुन् ?
हाम्रो मुख्य दूरदृष्टि लजिस्टिक प्रदायक, उद्यमी र कर्मचारीहरूको हकहित संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लजिस्टिक व्यवसायको प्रवद्र्धन गर्नु हो । हाम्रो प्रमुख उद्देश्यहरुमा हाम्रा सदस्यहरूको सेवास्तरलाई परम्परागत ‘१पिएल÷२पिएल’बाट बढाएर आधुनिक ५पिएल -Fifth Party Logistics सम्म पु¥याउनु रहेको छ । व्यापार लागत र लाग्ने समय घटाउने, सरकार, सञ्चारमाध्यम, शिक्षाविद् र विज्ञहरूसँग निरन्तर संवादमा रहने, आचारसंहिता र मानक व्यापारिक शर्तहरू (Standard Trading Conditions) को पालना गराउने हाम्रा लक्ष्य छन् ।
नेपालको वर्तमान लजिस्टिक क्षेत्र सुदृढ पार्न संस्थाले केकस्ता योजना बनाएको छ ?
हामीले स्पष्ट योजनासहित कार्यक्रमहरु गरिरहेका छौं । निश्चित समयसीमासहितका रणनीतिहरू पनि बनाएका छौँ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा हामी छौं । व्यापारिक कागजातको सरलीकरण गर्ने, इडीआइ तथा स्वचालन लागू गर्ने, सुख्खा बन्दरगाहहरूमा प्रयोगशाला र फ्युमिगेसन सेन्टर स्थापनाका लागि पहल गर्ने तत्कालीन योजना हुन् । बिमा कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड (ह्याम्बर्ग र विस्बी नियम) अनुसार संशोधन गराउने, बहुविध यातायात ऐन परिमार्जन गर्ने, तथा भारत, बङ्गलादेश र भुटानसँगको पारवहन र व्यापार सम्झौताहरूलाई अझ सहज बनाउने मध्यकालीन योजना हो । सरकारलाई राष्ट्रिय लजिस्टिक गुरुयोजना निर्माणमा सहयोग गर्ने, गोदाम तथा सडक पूर्वाधारको विकास गर्ने र नेपालमा आन्तरिक जलमार्ग सञ्चालनमा प्राविधिक सहयोग पु¥याउने हाम्रो दीर्घकालीन योजना हो । यही योजना अनुसार संस्थालाई अगाडि बढाइरहेका छौं ।
एसोसिएसनले अन्तराष्ट्रिय सम्बन्ध र संस्थागत प्रतिनिधित्व कसरी गरिरहेको छ ?
हाम्रो संस्था हामी विश्वस्तरीय संस्थाहरूसँग आबद्ध छौँ ।FIATA, IATA, ICAO, UN ESCAP जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायहरूसँग सम्बद्ध छ । राष्ट्रिय स्तरमा, नीतिगत सुधारका लागि यस संस्थाको अध्यक्ष सरकारी निकाय नेपाल इन्टरमोडल यातायात विकास बोर्डमा पदेन सञ्चालक समिति सदस्य रहने कानुनी व्यवस्था छ । जसले गर्दा हामीले व्यवसायीका समस्या र नीतिगत सुझाव सिधै सरकारसमक्ष पु¥याउन सकेका छौँ ।
एसोसिएसनले व्यवसाय बाहेक जनशक्ति विकास वा तालिम क्षेत्रमा के कस्ता काम गरिरहेको छ ?
लजिस्टिक र उड्डयन क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्नु हाम्रो प्राथमिकता हो । ल्भ्ँँब् ले नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को स्वीकृतिमा सन् २०१७ देखि IATA Certified Dangerous Goods Regulation (DGR) तालिम दिँदै आएको छ । यसैगरी, १ जनवरी २०२३ देखि लागू भएको नयाँ CBTA (Competency–Based Training and Assessment) ढाँचा अनुसार नेपालमा पहिलोपटक तालिम सञ्चालन गर्ने श्रेय पनि NEFFA लाई नै जान्छ । यसबाहेक हामी एयरलाइन्स, लजिस्टिक कम्पनी, सरकारी निकाय र सुरक्षा निकायहरूका लागि नियमित रूपमा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएका छौँ ।
नेपालका आयातकर्ता, निर्यातकर्ता र व्यवसायीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
ल्भ्ँँब् केवल एउटा संघ मात्र नभएर व्यवसायीहरूको भरपर्दो साझेदार हो । हामी ‘डोर–टु–डोर’ मल्टिमोडल सेवा, बिमा व्यवस्थापन, भन्सार सहजीकरण र कागजात व्यवस्थापनमा व्यवसायीहरूलाई निरन्तर परामर्श र सहयोग प्रदान गरिरहेका छौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी र आधुनिक बनाउन हामी प्रतिबद्ध छौँ ।
३२औं कार्गो दिवसको कसरी मनाउँदै हुनुहुन्छ ?
लजिस्टिक सेवाको महत्व उजागर गर्न कार्गो डेको योगदान रहँदै आएको छ । नेपालको आर्थिक गतिविधि बढाउनमा यो सेवाको महत्वपूर्ण योगदान छ । देशको समग्र व्यापारलाई बाह्य देशसँग जोड्न र आन्तरिक रुपमा समेत लजिस्टिक सेवाको योगदान अतुलनीय छ । यो सेवालाई व्यवस्थित र भरपर्दो बनाउने अभियानमा हामी छौं । यसैक्रममा हामीले जुलाई २९ मा हरेक वर्ष कार्गो दिवस मनाउँदै आइरहेका छौं । यस वर्ष पनि साउन १३ गते सोल्टी होटल काठमाडौंमा विशेष कार्यक्रमसहित कार्गो दिवस मनाउँदै छौं ।



Comments are closed.