काठमाडौं । नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) को आयोजनामा ३२औं कार्गो दिवस-२०२६ मनाइएको छ । ‘कुशल आपूर्ति व्यवस्थापन – सुदृढ अर्थतन्त्र’ नाराका साथ काठमाडौंको सोल्टी होटलमा बुधबार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका वक्ताहरूले देशको आर्थिक गतिविधि बढाउन र निर्यात प्रवर्द्धन गर्न लजिस्टिक तथा फ्रेट फरवार्डिङ क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा लजिस्टिक सेवाले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताए । आफू पनि व्यावसायिक पृष्ठभूमिबाटै आएकाले व्यवसायीका पिरमर्का र समस्याबारे जानकार रहेको उल्लेख गर्दै उनले कार्गो तथा लजिस्टिक क्षेत्रका समस्या समाधानका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एसोसिएसनका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रकाश कार्कीले राज्यले फ्रेट फरवार्डिङ व्यवसायीलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने र देशको निर्यात बढाउन यो क्षेत्रको भूमिका अतुलनीय रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात प्रक्रियालाई सहज र द्रुत बनाउन भन्सार प्रक्रिया छिटो सक्नुपर्नेमा जोड दिए । साथै उनले नेपाल एयरलाइन्सले जहाज थपेर कम्तीमा एउटा जहाजलाई पूर्ण रूपमा कार्गो सेवामा मात्रै प्रयोग गर्न सुझाव दिए ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आयात–निर्यात व्यापारमा कार्गो तथा फ्रेट फरवार्डरको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले लजिस्टिक लागत (कस्ट) बढी हुँदा नेपाली उत्पादनले बाह्य बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको भन्दै लजिस्टिक सेवालाई सस्तो र प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राखे ।
नेफाका अध्यक्ष राजेन्द्र सँग्रौलाले आर्थिक समृद्धिका लागि लजिस्टिक सेवा सस्तो, सरल र भरपर्दो हुनुपर्ने बताउँदै यसका लागि सरकार र सरोकारवाला निकायहरूसँग एसोसिएसनले निरन्तर सहकार्य गरिरहेको जानकारी दिए । उनले व्यवसायीका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउँदै राज्यबाट उचित सहयोगको अपेक्षा गरिएको बताए ।
कार्यक्रमका संयोजक एवं एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नरेशकुमार अग्रवालले लजिस्टिक लागत न्यूनीकरणका लागि सीमा पूर्वाधारको आधुनिकीकरण, डिजिटल कस्टम र पेपरलेस फ्रेट जस्ता आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

समारोहमा लजिस्टिक्स तथा व्यापार सहजीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति, नेफा सदस्य, सरकारी तथा गैरसरकारी निकाय, एयरलाइन्स र दीर्घसेवा गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
नेफा सदस्यतर्फ अटलान्टिक कार्गोका प्रबन्ध निर्देशक एकेन्द्र राज चालिसेलाई सम्मान प्रदान गरियो । विगत तीन दशकदेखि कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रमा निरन्तर क्रियाशील रहँदै अन्तर्राष्ट्रिय पहुँच विस्तार र व्यावसायिक मान्यता प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
सरकारी/गैर-सरकारी क्षेत्रतर्फ नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई प्रदान गरियो । नेपालको पारवाहन सेवा, गोदाम सुविधा, भन्सार सहजीकरण, र विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात सहजीकरण गरी समग्र आपूर्ति शृङखलालाई सुदृढ बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
नेपालबाट सबैभन्दा बढी कार्गो ओसारपसार गर्ने एयरलाइन्सहरूलाई पनि सम्मान गरिएको छ । अनलाइन एअरलायन्सतर्फ कतार एयरवेज प्रथम, थाई कार्गो दोस्रो र नेपाल वायुसेवा निगम तेस्रो हुँदै सम्मानित भएका छन् । अफलाइन एअरलायन्सतर्फ एतिहाद एयरवेज प्रथम हुँदै सम्मानित भयो । त्यसैगरी विगत चार दशकभन्दा बढी समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपास तथा फरवार्डिङ कार्यमा अनवरत सेवा पु¥याएका विमानस्थल कर्मचारी रामशरण खड्कालाई नगद १० हजारसहित सम्मान गरिएको छ । उनी २०४२ सालमा ब्रोडवे कार्गोबाट प्रवेश गरी हाल लुम्बिनी एयर फ्रेट प्रालिमा कार्यरत छन् । कार्यक्रममा व्यापार सहजीकरणसम्बन्धी विशेष भिडियो डकुमेन्ट्री प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूबीच अनुभव आदान–प्रदान गरिएको थियो ।
विगत तीन दशकदेखि निरन्तर आयोजना हुँदै आएको ‘कार्गो दिवस’ नेपालको लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रकै सबैभन्दा प्रतिष्ठित वार्षिक कार्यक्रमका रूपमा स्थापित भइसकेको छ । कतार एअरवेज कार्गो र थाई एअरवेज कार्गोको प्लाटिनम स्पोन्सरसिपमा सम्पन्न यस कार्यक्रमलाई विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स, सिपिङ लाइन्स तथा बन्दरगाह साझेदार संस्थाहरूले सहयोग गरेका थिए ।



Comments are closed.