कोदो उत्पादन, बजारीकरण र संरक्षणमा जोड

काठमाडौं । ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस शुक्रबार नयाँ बानेश्वरस्थित मौलिक भान्साघरमा सम्पन्न भएको छ।

कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतको सभापतित्व तथा सङ्घीय सांसद माननीय प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता नारायणकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरे, नेपाल निर्यात महासंघका अध्यक्ष गोविन्द घिमिरे, एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनी, नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरू राजकुमार कार्की, सुनिता निमाफुकी, नानीराज घिमिरे, विश्वनाथ खनाल, सुदर्शन कार्की, मौलिक भान्साघरका प्रबन्ध निर्देशक सुमन दाहाल, कालिकोट राजकोटका पूर्वमेयर काशीराज बराल, विभिन्न वस्तुगत संघका अध्यक्षहरू, कोदो तथा फापर संघका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल डेरी एसोसिएसन, मौलिक भान्साघर, कृषि विकास बैंक, कृषि विभाग, नार्क लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा एडीबीका प्रतिनिधि दीपेन्द्र जोशीले प्रमुख प्रस्तुतकर्ताका रूपमा कोदोको उत्पादन, सम्भावना र यसको आर्थिक महत्वबारे धारणा राखेका थिए। त्यसैगरी एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनीले कोदोको पोषण, खाद्य सुरक्षा तथा दिगो कृषि प्रणालीमा यसको भूमिकाबारे प्रकाश पारे।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुनिता निमाफुकीले कोदो उत्पादनको महत्व, महिला सहभागिता र ग्रामीण अर्थतन्त्रमा यसको योगदानबारे चर्चा गरिन्। महासङ्घका केन्द्रीय सदस्य राजकुमार कार्कीले विगतमा कोदोलाई हेर्ने दृष्टिकोण र वर्तमान समयमा बढ्दो महत्वबीच ठूलो परिवर्तन आएको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कोदो उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्नुपर्ने तथा सरकारले कोदोको समर्थन मूल्य निर्धारण गर्न आवश्यक रहेको बताए। नेपाल निर्यात महासङ्घका अध्यक्ष गोविन्द घिमिरेले कोदोको बजार स्वदेशमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नुपर्ने तथा यसको प्रशोधन र विविधीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद प्रकाश सिंह कार्कीले विगतमा कोदोलाई पछाडि परेको खाद्यवस्तुका रूपमा हेरिने भए पनि अहिले यसको पोषण, स्वास्थ्य तथा आर्थिक महत्वका कारण जनचासो बढ्दै गएको उल्लेख गरे। उनले कृषि क्षेत्रको विकास, विशेषगरी कोदो प्रवर्द्धनका लागि प्राप्त सुझाव र सल्लाहका आधारमा आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सभापति तथा कोदो तथा फापर सङ्घका अध्यक्ष डीबी बस्नेतले उपस्थित सम्पूर्ण अतिथि, कृषक, उपभोक्ता, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरू प्रति आभार व्यक्त गर्दै कोदो उत्पादन, बजारीकरण र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए। उनले सबै नेपालीलाई कोदो उत्पादन र नियमित सेवन गर्न आग्रह गर्दै दोस्रो राष्ट्रिय कोदो दिवस सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विशेष धन्यवाद व्यक्त गरे।

 

You might also like

Comments are closed.