रवीन्द्रमान सिंह प्रधान
संस्थापक अध्यक्ष, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA)
बदलिँदो परिस्थिति र राष्ट्रिय आवश्यकता अनुसार नेपालको पारवहन क्षेत्रलाई अझ व्यापकता दिँदै हवाई, स्थल, जल तथा रेलमार्ग सम्बन्धी ढुवानी सेवालाई सुव्यवस्थित, सुदृढ र वैज्ञानिक बनाउने उद्देश्यका साथ हामीले यस यात्राको थालनी गरेका थियौँ । राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पु¥याउन यस क्षेत्रमा क्रियाशील दुई संस्थाहरू, ‘फ्रेट फरवार्डर एसोसिएसन अफ नेपाल’ र ’कार्गो एजेन्ट एसोसिएसन अफ नेपाल’लाई विलय गराई ‘नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA)को स्थापना गरिएको हो । २०५५ साउन ७ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा यो संस्थाको औपचारिक दर्ता भएको थियो ।
स्थापना कालमा संस्थापक अध्यक्षको हैसियतमा दुई कार्यकाल नेतृत्व गर्ने अवसर पाउँदा संस्थाको पहिचान स्थापित गर्न थुप्रै प्रयासहरू भए । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समिति, पारवहन समिति, अर्थ मन्त्रालयको राजस्व परामर्श समिति, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, भन्सार एजेन्ट संघ लगायतका निकायहरूसँग निरन्तर समन्वय गरियो ।
विगतको तुलनामा आज प्रविधि र पूर्वाधारमा ठूलो सुधार भएको छ । आज डिजिटल प्रणालीले काम धेरै सहज बनाएको छ । तर, व्यवसायीक, व्यावहारिक र नीतिगत समस्याहरू अझै कायमै छन् ।
कार्गो र कुरियर व्यवसायीहरूले ग्राहकको घोषणामा विश्वास गरेर केवल सेवा शुल्कमा सामान ढुवानी गर्ने काम गर्छन् । सामानभित्र के छ भन्ने पूर्ण जिम्मेवारी पठाउने व्यक्तिकै हुने भएकाले कुनै अवैध सामान परेमा वास्तविक दोषीमाथि नै कारबाही हुनुपर्छ । निर्दोष एजेन्टहरूलाई अनावश्यक कानुनी र मानसिक सास्तीबाट जोगाउन सरकारले स्पष्ट र सहज नियम–कानुन बनाउनु आवश्यक छ, जसले व्यावसायिक वातावरणलाई अझ सुरक्षित र भरपर्दो बनाउन मद्दत पु¥याउँछ ।
लजिस्टिक्स क्षेत्रमा धेरै प्रकारका केही जटिल ऐन–कानुनहरूले गर्दा काम गर्न असहज वातावरण बनेको छ । व्यवसायमा लाग्दै आएको झन्झटिलो र अव्यावहारिक TDS लाई खारेज गरिनुपर्छ । नियम र अनुगमन व्यवसाय–मैत्री हुनुपर्छ ।
नेपालको भौगोलिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय बजारसम्मको ढुवानी दूरी धेरै छ, जसले गर्दा ढुवानी खर्च महँगो पर्न जान्छ । नेपालको सम्पूर्ण वैदेशिक व्यापार (निर्यात–आयात) लाई विश्व बजारसँग जोड्ने मुख्य वाहक नै फ्रेट फरवार्डरहरू हुन् । सरकारले लजिस्टिक्स क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगका रूपमा हेर्नुपर्छ र यसका अप्ठ्याराहरू फुकाउन सहजीकरण गर्नुपर्छ ।




Comments are closed.