सन्देश श्रेष्ठ
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले डिजिटल अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । माछापुच्छ्रे गाउँपालिकाले राष्ट्रिय अपाङ्गता महासंघ र सि.बि.एम.सँगको साझेदारीमा सोमबारदेखि डिजिटल अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले अपाङ्गता भएका माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ का लिलाधर अधिकारीलाई डिजिटल अपाङ्गता परिचय पत्र प्रदान गरेर डिजिटल अपाङ्गता परिचय पत्र वितरणको शुभारम्भ गरे ।
डिजिटल अपाङ्गता परिचय पत्र प्र्राप्त गर्ने अधिकारी नेपालकै पहिलो व्यक्ति भएको बताइन्छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले डिजिटल अपाङ्गता परिचय पत्र वितरण गर्ने माछापुच्छ्रे गाउँपालिका देशकै पहिलो पालिका भएको र अधिकारी डिजिटल परिचय पत्र प्राप्त गर्ने नेपालकै पहिलो व्यक्ति भएको दाबी गरेका हुन् । अधिकारी पूर्ण अपाङ्गता भएका व्यक्ति हुन् । उनलाई रातो अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
नेपालमै पहिलोपटक प्रदान गरिएको डिजिटल अपाङ्गता परिचय पत्रमा चिप्स भने जडान गरिएको छैन । चिप्स जडान नगरिएकाले यसलाई पूर्ण डिजिटल परिचय पत्र भन्न त मिल्दैन,‘ राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष शर्माले भने,‘तर यत्तिको डिजिटल परिचय पत्र पनि अन्य पालिकाले वितरण गरेको छैन, त्यसैले डिजिटल परिचय पत्र वितरण गर्ने पालिका माछापुच्छ«े नै हो ।’ केहि पालिकाले डिजिटल परिचय पत्र वितरण गर्ने घोषणा गरेपनि कार्यान्वयनमा नल्याइसकेको उनले बताए ।
अपाङ्गता भएकालाई रातो, निलो, पहेंलो र सेता गरी ४ प्रकारमा विभाजन गरिएको छ । पूर्ण असक्तलाई रातो, अति असक्तलाई निलो, मध्यम असक्तलाई पहेंलो र सामान्य असक्तलाई सेतो रङको परिचय पत्र वितरण गरिने गरिएको अध्यक्ष शर्माले बताए ।
माछापुच्छ«े गाउँपालिकामा कुल ४५६ जना अपाङ्गता भएकाहरु रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । गत कात्तिक १७ गतेदेखि २४ गतेसम्म क्याम्प नै चलाएर अपाङ्गताको लगत संकलन गरिएको र सोहि अनुसार परिचय पत्र बनाएर वितरण गरिएको उनले बताए । उनका अनुसार कुल अपाङ्गताको करीब २५ प्रतिशत अर्थात १०८ जना पूर्ण असक्त भएकाले उनीहरुलाई रातो परिचय पत्र वितरण गरिएको छ । त्यस्तै अति असक्त भएका २३८ भएकाले उनीहरुलाई निलो, मध्यम असक्त भएका ९७ जना भएकाले उनीहरुलाई पहेंलो र सामान्य असक्त भएका १३ जनालाई सेतो डिजिटल परिचय पत्र प्रदान गरिएको छ । अपाङ्गता भएकाहरुको परिचय पत्र सम्बन्धित वडाले नै प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आ–आफ्नो वडाका अपाङ्गता भएकाहरुको डिजिटल अपाङ्गता परिचय पत्र गाउँपालिका अध्यक्षले हस्तान्तरण गरेका थिए । अब उनीहरुले घर÷घरमा पुगेर परिचय पत्र वितरण गर्ने अध्यक्ष गुरुङले बताए ।
डिजिटल परिचय पत्र वितरण कार्यक्रममा बोल्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले अपाङ्गता भएकाहरुको अधिकार रक्षा गर्दै उनीहरुलाई सेवा दिन आफूहरु लागिपरेको बताए । साथै उनले जन्मजात अपाङ्गता हुनबाट जोगाउन सबै सचेत भएर लाग्नुपर्ने औंल्याउँदै त्यसका लागि गर्भवती महिलालाई पोषणयुक्त खाना दिनुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष तथा स्थानिय अपाङ्गता समन्वय समितिका संयोजक कृष्णकुमारी पौडेल दवाडीले पहिलेको परिचयपत्र सामान्य कागजको भएकाले पसिना र पानीलेसमेत भिज्ने तथा च्यातिने डर हुने भएकाले डिजिटल परिचय पत्र वितरण गरिएको स्पष्ट पारिन् ।
राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले परिचय पत्रमा गुणस्तरियता र एकरुपता ल्याउन डिजिटल परिचय पत्र आवश्यक रहेको बताए । उनले अपाङ्गताको संख्या पत्ता लागेपछि योजनासमेत बनाउन सजिलो हुने भएकाले सबै पालिकाले अपाङ्गताको लगत राख्नुका साथै डिजिटल परिचय पत्र प्रदान गर्नुपर्ने बताए । अपाङ्गता भएकाहरुलेपनि राज्य छ भन्ने अनुभूति गर्न पाउनुपर्छ,‘उनले भने,‘उनीहरुले पनि राज्यले दिने सेवा सहजै पाउनुपर्छ ।’








Comments are closed.