नेउवा संघ काठमाडौंले स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड दिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गत उद्योग समितिका सभापति भुवन श्रेष्ठले स्थानीय उत्पादन, स्वदेशी उत्पादन र ‘मेड इन काठमाडौं’लाई प्रवर्द्धन गर्न संघले विशेष प्राथमिकताका साथ काम गर्ने बताएका छन् । संघद्वारा आयोजित ‘योजना तर्जुमा कार्यशाला’लाई सम्बोधन गर्दै उनले काठमाडौंका साना, मझौला तथा लघु घरेलु उद्योगको प्रवद्र्धनका लागि स्वदेशी उत्पादनको बजारीकरण र संरक्षण आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रका संघसंस्थाका साथै सरकार स्वयं पनि गम्भीर भएर लाग्नुपर्ने बताए । उद्योगी–व्यवसायीहरूलाई वित्तीय पहुँच र बैंकिङ सहजीकरण गर्न संघ र संघ अन्तर्गतका समितिहरूले प्रत्यक्ष रूपमा काम गर्ने उनले स्पष्ट पारे ।

लगानी तथा पुँजी प्रवर्द्धनका लागि तीनै तहका सरकारसँग समन्वय र सहकार्य गरिने बताउँदै उनले उद्योग क्षेत्रको व्यवस्थित तथ्यांक संकलनका लागि डेटाबेस निर्माण गरिने जानकारी दिए ।

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि संघले आगामी दिनमा व्यापार महोत्सवहरू आयोजना गर्ने, नीतिगत पैरवी गर्ने र व्यवसायीहरूलाई उद्योगसँग सम्बन्धित तालिम तथा सहजीकरण उपलब्ध गराउने योजना बनाएको छ । साथै, नयाँ अध्ययन र अनुभव आदानप्रदानका लागि स्वदेश तथा विदेशमा औद्योगिक भ्रमणहरू समेत सञ्चालन गरिने कार्यक्रममा जनाइएको छ ।

You might also like

Comments are closed.