नगरकोट । काठमाडौंको निजी क्षेत्रको समग्र विकासका लागि नयाँ दृष्टिकोण (भिजन) र कार्यदिशा (रोडम्याप) तयार पार्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा दुई दिने रणनीतिक कार्यशाला गोष्ठी नगरकोटमा सम्पन्न भएको छ ।
नगरकोटस्थित भिस्टा माउन्टेन रिसोर्टमा आयोजित कार्यशालाको शुभारम्भ गर्दै संघका अध्यक्ष रमानाथ श्रेष्ठले निजी क्षेत्रको हकहित संरक्षणका लागि संस्थाको भावी योजना परिष्कृत गर्न गोष्ठी कोसेढुङ्गा सावित भएको बताए । संघले व्यावसायिक हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उनले कार्यशालाबाट प्राप्त सुझाव र कार्ययोजनाले संस्थालाई आगामी दिनमा थप सुदृढ र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।
दुई दिनसम्म सञ्चालित कार्यशालामा संघ अन्तर्गत गठित १४ वटा विषयगत समितिले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । १०० जना उद्यमीहरूलाई समेटेर गठन गरिएका ती विषयगत समितिहरूमध्ये पहिलो दिन ७ र दोस्रो दिन ७ समितिले प्रस्तुतीकरण राखेका छन् । कार्यशालामा संघको कार्यसमिति, विभिन्न समितिका सभापति तथा सदस्य गरी कूल ९१ जना प्रतिनिधिको उपस्थिति रहेको महासचिव प्रेमहरि मैनालीले जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले ‘अनुभव र जीवनबाट प्रेरणा’ तथा ‘जीवन, व्यवसाय र सम्बन्ध’ विषयमा विशेष मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी, सफल महिला उद्यमी एवं संघकी सल्लाहकार सुष्मा महराले पितृसत्तात्मक समाजमा महिला उद्यमीका रूपमा भोगेका चुनौती र आफ्ना अनुभव प्रस्तुत गरिन् ।

कार्यशालाको सहजीकरण वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, महासचिव प्रेमहरि मैनाली र कार्यकारिणी सदस्य सत्यबहादुर श्रेष्ठले गरेका थिए ।
योग शिक्षक अंशुभा मानन्धरबाट ‘स्वास्थ्यका लागि योग’ अभ्यास र एचआर परामर्शदाता चिरञ्जीवी शर्माबाट ‘डिस्क म्यानेजमेन्ट’ सम्बन्धी ओरिएन्टेसन सञ्चालन गरिएको उपाध्यक्ष उज्ज्वल जंग शाहले जानकारी दिए । कार्यशालाको अन्तिम सत्रमा एकीकृत प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको छ ।




Comments are closed.