पोखरा उद्योग वाणिज्य संघको सदस्यमा युवा व्यवसायी दिलीप कुमार श्रेष्ठको उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनमा युवा व्यवसायी दिलीप कुमार श्रेष्ठले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । यसअघि पनि संघको कार्यसमितिमा रहेर सफल कार्यकाल पूरा गरिसकेका श्रेष्ठले उद्योगी–व्यवसायीहरूको हकहित र संघको संस्थागत सुदृढीकरणका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् ।

संघको महाधिवेशन आगामी भदौ २० र २१ गते पोखरामा हुँदैछ । विगत लामो समयदेखि पोखराको व्यावसायिक क्षेत्रमा सक्रिय श्रेष्ठले सम्पूर्ण सदस्यहरूको अधिकार, हित र व्यावसायिक सुरक्षाका लागि निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघलाई अझ सशक्त, पारदर्शी र व्यवसायीमैत्री बनाउन आगामी निर्वाचनमा उद्योगी–व्यवसायीहरूबाट पूर्ण सहयोग र विश्वास प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताए ।

पोखरा–३, तेर्सापट्टीस्थित अदिति ट्रेड सेन्टरका सञ्चालक समेत रहेका श्रेष्ठ व्यावसायिकसँगै विभिन्न सामाजिक तथा विषयगत संघ–संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका छन् ।

अधिकृत बिक्रेता संघ पोखराको वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल वितरक महासंघको केन्द्रीय सदस्यसमेत हुन् । लायन्स क्लब इन्टरनेसनल ३२५ आई नेपालको डिस्ट्रिक्ट काउन्सिलर पनि हुन् ।

आफ्नो विगतको सांगठनिक अनुभव र व्यावसायिक दक्षताका कारण संघका सदस्यहरूले पुनः सेवा गर्ने अवसर प्रदान गर्नेमा श्रेष्ठ विश्वस्त छन् ।

You might also like

Comments are closed.