बाढीका कारण एन आई सी एशियाका ३ शाखा कार्यालय पूर्णरुपमा क्षति, कर्मचारी सुरक्षित

काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको र आवश्यक परेमा कर्मचारी र परिवारका सदस्य सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको जनाइएको छ ।

बाढीका कारण यस बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ । उक्त शाखा कार्यालय पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने बैंकले जनाएको छ ।

आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंकले दुःख व्यक्त गरेको छ । साथै, उक्त बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा समवेदना व्यक्त गरेको छ । हालसम्म सम्पर्कमा नआएका नागरिकको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले गरेको छ ।

You might also like

Comments are closed.