काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति संवेदना व्यक्त गरेको छ । बैंकले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकमको चेक सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद वस्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो ।
बैंकले यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवार श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना समेत बैंकले गरेको छ ।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । बैंकले आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यमा निरन्तर सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.