समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला भोलिबाट, सम्पूर्ण तयारी पुरा

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भोलि (शुक्रबार)बाट ‘समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’ हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दैछन् । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव तथा प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले जानकारी दिए । मेलाको उद्घाटन अघि संघको सचिवालयबाट प्रभातफेरीको आयोजना गरिने उनले बताए ।

उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उद्देश्य बोकेको मेलामार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने संघका अध्यक्ष दामु अधिकारीले बताए । मेलामा औद्योगिक क्षेत्रका उद्योगहरुबाट २० वटा स्टलसहितको छुट्टै पेभेलियन, हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर सहितका झण्डै २ सय ७० वटा स्टल रहने छन् । यी स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधीहरुको प्रदर्शन गरिनेछ ।

मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए । उनका अनुसार विद्यार्थीहरुको लागि परिचयपत्रको आधारमा प्रवेश टिकटको शुल्क ४० रुपैयाँ कायम गरिएको छ । सिमकार्ड लिनको लागि अवलकोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र एउटा फोटो भने ल्याउनु पर्नेछ । मेला परिसरमा रहने नेपाल टेलिकमको स्टलमार्फत सिमकार्ड बितरण गरिने छ ।

यता संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा वुटवलका इन्जिनियर शिशीर जिसीले आविष्कार गरेका ६० प्रतिशत इन्धन र ४० प्रतिशत पानीको प्रयोगबाट मोटर र मोटरसाइकल चल्ने प्रविधिलाई प्रवद्र्धन गर्ने कार्यक्रम छ । मेलामा लोकदोहोरी प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु पनि समावेश गरिएको उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले जानकारी दिइन् ।

संघका महासचिव अर्जुन पोखरेलले मेलाले पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिएको बताए । उनले संघको नियमित कार्यक्रमको रुपमा समावेश भए पनि मेला सबै पोखरेलीको भएको जिकिर गरे । संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेले करिब १ लाख अवलोकनकर्ताले मेलामा सहभागिता जनाउने दावी गर्दै मेलाबाट करिब ३० लाख वचत हुने अनुमान लगाए । उपमहासचिव चिनु गुरुङले मेलामा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीलाई विशेष महत्व दिइएको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला आयोजना गरिएको हो ।

मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ । मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबि बैंक, गोल्छा अर्गनाइजेसन, एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमश्री फुड्सको रारा चाउचाउ, बरुण बेभरेज, विजय डिष्टिलरी, हाइलाइफ फुड प्रोडक्ट, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् । मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि, स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।

You might also like

Comments are closed.