पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशनका लागि देवेन्द्र प्रजूले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा दिएका छन् । व्यवसायी प्रजूले संघको कोषलाई वित्तीय रूपमा सबल, अनुशासित र पारदर्शी बनाउने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन् ।
कोषाध्यक्षका उम्मेदवार प्रजूले संघको वित्तीय दायरा फराकिलो बनाउँदै व्यवस्थापनलाई प्रविधिमैत्री र मर्यादित बनाउने बहुपक्षीय योजना अघि सारेका छन् । संघको आम्दानीको मुख्य स्रोत सदस्यता शुल्क नै भएकाले सदस्यता संख्या विस्तार गर्नुका साथै संघका आफ्नै सभाहल, अमृत कक्ष र प्रदर्शनी केन्द्रमा रहेको डोमजस्ता भौतिक पूर्वाधारको पूर्ण क्षमतामा उपयोग गरी आन्तरिक आय वृद्धि गर्ने उनको योजना छ । यसबाहेक सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी आयमूलक कार्यक्रम सञ्चालन गर्ने, डिजिटलाइजेसन र सिस्टमाइजेसनमार्फत आर्थिक गतिविधिलाई पारदर्शी बनाउने तथा प्रभावकारी बजेट कार्यान्वयनमार्फत मितव्ययिता अपनाउने प्रतिबद्धता उनले जनाएका छन् ।
लामो समयदेखि खाद्यान्न तथा एफएमसीजी क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका प्रजू नदीपुरस्थित प्रजू एन्ड सन्स, प्रजू ब्रदर्स प्रा.लि. र प्रजू आदित्य एग्रो एन्ड प्रोसेसिङ इन्डस्ट्रिजका सञ्चालक हुन् । उनी गण्डकी प्रदेशका लागि हुलास खाद्यान्नका अधिकृत विक्रेता तथा आयातक हुन् । व्यावसायिक सफलताका साथै सामाजिक तथा सांगठनिक क्षेत्रमा समेत सक्रिय प्रजू नेपाल युवा उद्यमी मञ्च पोखराका पूर्वअध्यक्ष (सन् २०१२/१३) समेत हुन् ।

वि.सं. २०५८ मा साधारण सदस्य बनेर संघमा जोडिएका प्रजू ३४औं महाधिवेशनबाट मनोनित सदस्य र ३५ औं महाधिवेशनमा खुलातर्फबाट लोकप्रिय मतका साथ कार्यसमिति सदस्य निर्वाचित भइसकेका छन् । आफ्ना निजी व्यवसायमा हासिल गरेको वित्तीय अनुशासन र अनुभवलाई संघको समग्र हकहितमा उपयोग गर्ने बताउँदै उनले भदौ २० र २१ गते हुने निर्वाचनमा आफूलाई अमूल्य मत दिई विजयी गराउन पोखराका उद्योगी–व्यवसायीहरूसँग अपिल गरेका छन् ।



Comments are closed.