बाढीपहिरो पीडितको उद्धार र पुनर्निर्माणका लागि चितवन को–ई ग्रुपद्वारा १ करोड ५० लाख सहयोग

पोखरा । रसुवा र नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड ५० लाख सहयोग जम्मा गरेको छ ।

ग्रुपअन्तर्गत सञ्चालित नेपालको पहिलो केबुलकार सेवा प्रदायक कम्पनी मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) ले रु १ करोड २५ लाख र चितवन मिल्क लिमिटेडले रु २५ लाख गरी कुल रु १ करोड ५० लाख रकम कोषमा जम्मा गरेका हुन्। उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उद्धार कोषमा हस्तान्तरण गरिएको समूहले जनाएको छ ।

चितवन को–ई ग्रुपले विपद्को यस कठिन घडीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घरबार तथा जीविकोपार्जन गुमाएका प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

समूहका अनुसार आफ्नो व्यावसायिक यात्राको जरा चितवन, गोर्खा र आसपासका क्षेत्रहरूसँग गहिरोसँग जोडिएकाले संकटको समयमा समुदायको साथमा उभिनु संस्थागत सामाजिक उत्तरदायित्व हो । समूहले संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको व्यावसायिक एवं सामाजिक दर्शन स्मरण गर्दै, देश र समाजप्रति उत्तरदायी हुने सोही मूल्यअनुरूप सहयोग उपलब्ध गराइएको जनाएको छ ।

नेपाल–चीन सीमा क्षेत्र तथा त्रिशूली करिडोरमा आएको बाढीले क्षति पु¥याएको सन्दर्भमा सरकारले एकद्वार प्रणालीमार्फत उद्धार तथा पुनर्निर्माणका लागि राहत सङ्कलन गरिरहेको छ । निजी क्षेत्रका विभिन्न उद्योग, बैंक तथा व्यावसायिक घरानाहरूसँगै चितवन को–ई ग्रुपले पनि ऐक्यबद्धता जनाउँदै राहत अभियानमा हातेमालो गरेको हो ।

You might also like

Comments are closed.