आर्थिक आवाज / काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ‘रिजाल फुड एण्ड बेभरेज प्रालि’ ले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
संस्थासँग आबद्ध श्रमिक, कर्मचारी, व्यवस्थापन टोली तथा सम्पूर्ण टिमको सामूहिक एकता र योगदानबाट सो रकम संकलन गरी कोषमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले यो सहयोग केवल आर्थिक योगदान मात्र नभई विपत्तिमा परेका नेपाली परिवारप्रतिको जिम्मेवारी र ऐक्यबद्धताको भावना भएको बताएको छ।
यसका साथै, राहत संकलन तथा वितरणमा सक्रिय विभिन्न संघ(संस्थाहरूसँग सहकार्य गर्दै कम्पनीले आफ्ना उत्पादनहरू (रिजाल नमकिन लगायत) निरन्तर रूपमा प्रभावित तथा आवश्यकतामा रहेका समुदायसम्म पुर्याउँदै आएको छ।
आगामी दिनहरूमा पनि आवश्यकताअनुसार राहत तथा मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले यस कठिन घडीमा सबैलाई सहयोग र मानवताको हात बढाउन अपिल गरेको छ।



Comments are closed.