महासंघ प्रतिनिधिद्वारा बाढी प्रभावित विभिन्न स्थानको अवलोकन तथा निरीक्षण

क्षतिग्रस्त पूर्वाधार निर्माणमा सहयोगको प्रतिबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले भदौ १० मा चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न ठाउँमा भएका अकल्पनीय मानवीय एवं भौतिक क्षतिको स्थलगत अवलोकन एवं निरीक्षण गरेको छ । महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिहरूसँगै देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाट लगायतका क्षेत्रमा बाढीका कारण भएको व्यापक क्षतिका बारेमा जानकारी लिएको छ ।

स्थलगत निरीक्षणपछि तत्काल ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशुली बजार जोड्ने गरी २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्दा नुवाकोट सहित छिमेकी जिल्लाका ५० हजार भन्दा बढी स्थानीय लाभान्वित हुने देखिएपछि महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ ।

मन्त्रालयका प्राविधिक विज्ञहरूसँगको परामर्शमा पुल निर्माण कार्यलाई अघि बढाइने महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पताल सहित किसपाङ्ग र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका वडा नम्बर ७, ८, ९ र ३ का केही भूभागसँग विच्छेद भएको सम्पर्क पुर्नस्थापना भई हजारौं लाभान्वित हुने स्थानीयको भनाइ छ ।

महासंघ अध्यक्ष पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, जिल्ला स्थित नेपाली सेनाका उच्च पदस्थ अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखले बाढीका कारण नुवाकोटमा भएको क्षति र अबको निकासबारे अवगत गराएका थिए । महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष पाण्डेसँगै महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्य समिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्र कुमार खड्का रहेका थिए ।

You might also like

Comments are closed.