नुवाकोटको तुप्चेमा लायन्स क्लबद्वारा २५० परिवारलाई राहत सामग्री वितरण

नुवाकोट । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आरले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ७, तुप्चेका २५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको लायन्स क्लबको १८ सदस्यीय टोलीले प्रत्यक्ष रूपमा तुप्चे पुगेर स्थानीय प्रभावित तथा विपन्न परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लबका क्लस्टर चिफ मोहन केसीले हालै रसुवा भोटेकोशी बाढीले समस्यामा परेका तथा लक्षित परिवारहरूलाई राहत र सहायता पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । राहत सामग्री अन्तर्गत भान्सामा प्रयोग हुने भाँडाकुँडा (थाल, कचौरा, पकाउने भाँडा) लगायत अन्य अत्यावश्यक घरायसी सामानहरू वितरण गरिएको छ ।

१८ जना लायन्स स्वयंसेवकहरूको टोलीले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष भेट गरी सामग्री हस्तान्तरण गर्दा स्थानीयहरूले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.