काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख ५१ हजार सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय कार्गो ओसारपसार तथा लजिस्टिक्स सेवामा सक्रिय कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम कोषमा जम्मा गरेको हो । कम्पनीले बाढीबाट ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
राज्यको आधिकारिक कोषमार्फत योगदान गर्दा सरकारी राहत प्रयासमा थप बल पुग्ने कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले विश्वास व्यक्त गरे । ‘विपद्को यस कठिन घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउनु सबैको साझा दायित्व हो,’ उनले भने, ‘प्राकृतिक विपद्ले पु¥याएको क्षतिमा मल्हम लगाउन राज्य, निजी क्षेत्र र सामाजिक संस्थाहरू एकजुट भएर हातेमालो गर्न आवश्यक छ ।’

कम्पनीले राहत र पुनस्र्थापनाको कठिन यात्रामा समाजका सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्यका लागि आह्वान समेत गरेको छ । निजी क्षेत्रबाट हुने यस्ता सहयोगले तत्कालीन राहतका साथै दीर्घकालीन पुनस्र्थापना र पुनर्निर्माणका काममा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।



Comments are closed.