काठमाडौं । नेपालको सुस्त अर्थतन्त्रलाई गति दिन र दिगो एवं सुरक्षित आवासको सन्देश फैलाउने उद्देश्यका साथ ‘सिजी प्रपर्टिज/सिजी होल्डिङ्स नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार: ग्रिन डेभलपमेन्ट, द निड अफ द डे’ मूल नाराका साथ आयोजना हुन लागेको चार दिने एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्य, नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौँको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । सिया इभेन्ट एसोसिएट्स प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको उद्घाटन सभामुख डोलप्रसाद अर्यालबाट हुनेछ । करिब ६५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गर्ने अनुमान गरिएको छ । सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीमा नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतका समेत गरी १०० भन्दा बढी स्टल रहनेछन्, जुन सबै बुकिङ भइसकेका छन् ।
प्रदर्शनीमा संयुक्त आवास, अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्री, इन्जिनियरिङ कन्सल्टेन्सी, बैंक तथा वित्तीय संस्था, बिमा र रेनवाटर हार्भेस्टिङका प्रविधि प्रदर्शनमा राखिनेछन् । वातावरणमैत्री प्रविधिलाई प्रवद्र्धन गर्दै एक्स्पोलाई ‘पेपरलेस’ बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक्स किओस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । प्रदर्शनीमा सस्तो, मध्यम र उच्चस्तरीय आवासका स्टलहरूसँगै निजामती कर्मचारीका लागि १ करोड ४० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्ममा घर निर्माण गर्ने सरकारी योजनाको मोडलसमेत प्रस्तुत गरिनेछ ।
वर्तमान आर्थिक शिथिलता र नीतिगत जटिलताबारे बोल्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं महासंघका सल्लाहकार दीपक मल्होत्राले घरजग्गा क्षेत्र सुस्ताउँदा सिङ्गो अर्थतन्त्रमा ‘चेन इफेक्ट’ परेको बताए । ‘सिमेन्ट, डन्डी, पेन्ट, सेनेटरीदेखि रोजगारीको चक्र यही क्षेत्रमा आधारित छ,’ मल्होत्राले भने, ‘हाल बैंकिङ क्षेत्रमा तरलता सहज बन्दै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले लगानीको वातावरण बनाउन लोन-टु-भ्यालु अनुपात ७० प्रतिशत पु¥याउनुपर्छ र ७.५ प्रतिशतको मालपोत दस्तुर घटाउनुपर्छ ।’
हालैको विनाशकारी बाढी-पहिरोपछि आयोजित एक्स्पोलाई व्यापारमा मात्र सीमित नराखी चेतनामूलक बनाइने नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । ‘घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो,’ अध्यक्ष घिमिरेले भने, ‘बाढी–सुरक्षित र नदी किनारभन्दा सुरक्षित दूरीमा कसरी घर बनाउने भन्नेबारे विज्ञहरूद्वारा सेमिनार तथा परामर्श कक्षा सञ्चालन गरिनेछ ।’ एक्स्पोमा जलवायु परिवर्तन, विपद्-प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारी (एएए) लगायतका विषयमा प्यानल छलफलसमेत आयोजना गरिनेछ ।
एक्स्पोका संयोजक एवं महासंघका महासचिव रोशन भोयद्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । त्यस्तै नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौँका अध्यक्ष ई. दीपक कुँवरले भूकम्प, कोभिड-१९ र आर्थिक मन्दीका बाबजुद घरजग्गा क्षेत्रलाई चलायमान बनाउन एक्स्पोको योगदान रहेको बताए । ‘प्रदर्शनीले घरजग्गा कारोबारमा मात्र नभई निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत एउटै मञ्चमा समेट्नेछ’ उनले भने ।

आयोजकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । सामाजिक दायित्वअन्तर्गत रसुवाका बाढीपीडित परिवारका लागि राहत सामग्री र ड्रोन उपकरण पठाइनुका साथै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिसकिएको छ । प्रदर्शनीका क्रममा अवलोकनकर्ताहरूलाई भूकम्प प्रतिरोधी घर निर्माण र वास्तुशास्त्रसम्बन्धी निःशुल्क परामर्श दिइनेछ । साथै, ओम र ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, बाढीपीडितका लागि निःशुल्क उपचार प्याकेज र नयाँ युवा उद्यमीहरूका लागि निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिनेछ ।



Comments are closed.