पोखरा । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि लायन्स क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि पीडितहरूको सहयोगार्थ क्लबले विशेष अभियान सञ्चालन गरेको थियो। क्लबका सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम राहत कोषहरूमा हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष लायन डा. माधव तिवारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले संकलित सम्पूर्ण रकम दुई फरक कोषमार्फत परिचालन गर्ने निर्णय गरेको थियो। जसअनुसार: प्रधानमन्त्री दैवी प्रकोप कोष: बाढीपीडितहरूको दीर्घकालीन राहत तथा पुनर्स्थापनाका लागि एक लाख तीस हजार एक रुपैयाँ जम्मा गरिएको छ। लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपाल: डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बास्तोलाको आह्वानअनुसार तत्काल प्रत्यक्ष राहत सामाग्री वितरण तथा कार्यक्षेत्रमा परिचालन गर्न १९ हजार नौ सय ९९ रुपैयाँ) हस्तान्तरण गरिएको छ।

मानवीय सेवाको उद्देश्यले सञ्चालित अभियानमा स्वतःस्फूर्त आर्थिक सहयोग पुर्याउने सम्पूर्ण लायन्स सदस्यहरू, क्लबका अग्रज नेतृत्व, पदाधिकारी तथा प्रत्यक्ष-अप्रत्यक्ष साथ दिने शुभेच्छुकहरूप्रति क्लबले आभार व्यक्त गरेको छ।
“सेवा नै लायन्सको पहिचान हो” भन्ने मूल नारालाई आत्मसात गर्दै संकटको घडीमा बाढीप्रभावित नागरिकको साथमा उभिनु आफूहरूको मानवीय दायित्व रहेको क्लबले जनाएको छ ।



Comments are closed.