चाडपर्वसँगै बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित फेसियल हाउसको कार्यक्रम

काठमाडौं । फेसियल हाउसले ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन कल्चर्स कार्यक्रम २०८३’ सम्पन्न गरेको छ । चाडपर्व पनि मनाऔं, बाढीपीडितलाई पनि सहयोग गरौं’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो ।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन कल्चर्स कार्यक्रम २०८३’ लाई सामाजिक उत्तरदायित्वसँग जोडिएको आयोजकले जनाएको छ । कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने बताइन् । “यसरी कार्यक्रम गर्दा हाम्रो संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ । त्यससँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ । त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौं,” महराले भनिन् ।

यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा सुनिता राई विजेता बनिन् । अस्लिना गुरुङ फर्स्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भए । त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भइन् । विजेताहरूलाई क्राउनसमेत लगाइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । यस्तै, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिइन् ।

प्रतियोगिताको निर्णायकमा ट्रान्सजेन्डर महिला निर्मला पौडेल, सञ्चारकर्मी गंगालाल लामा, गृहिणी महिलासँग नेपालकी संस्थापक अध्यक्ष अमृता शर्मा, अभिनेत्री मान्सी शर्मा तथा उद्यमी फूपू तेन्जिङ शेर्पा सहभागी थिए ।

प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । फेसियल हाउसले स्थापना कालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता प्रबन्ध निर्देशक महराले जनाइन् ।

फेसियल हाउसले काठमाडौंको काठमाडौं मल, चाबहिल, ललितपुर, चितवन, पोखरा, नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा विस्तार गरिसकेको जनाएको छ ।

You might also like

Comments are closed.