नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको स्थापना दिवसमा रक्तदान, ७५ पिन्ट रगत संकलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ। वसन्तपुर डबली (कुमारी घर नजिक) आयोजित उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजना, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ब्‍लड डोनर्स एसोसिएसन नेपाल -ललितपुर_ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमबारे जानकारी दिँदै संघका महासचिव प्रेमहरि मैनालीले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। ‘रक्तदान जीवनदान हो भन्ने मूल नारालाई आत्मसात् गर्दै बिरामीहरूलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ, जहाँ ७५ पिन्ट रगत संकलन भएको छ,’ उनले भने।

संघका अध्यक्ष रमानाथ श्रेष्ठले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरे। उद्योगी-व्यवसायीहरू केवल व्यापार-व्यवसायमा मात्र नभई सामाजिक तथा मानवीय कार्यमा पनि सधैँ अगाडि रहने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यस्तै कार्यक्रम संयोजक केशव मैनालीले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल रेडक्रस सोसाइटी, सहयोगी संस्थाहरू र सम्पूर्ण रक्तदाताहरू प्रति आभार व्यक्त गरे।

बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय व्यवसायी, सर्वसाधारण तथा युवाहरूको उल्लेखनीय सहभागिता थियो ।

You might also like

Comments are closed.