काठमाडौं । फेसन शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा अवार्ड–२०२६’ प्रदान गरिएको छ ।
विभिन्न एसियाली राष्ट्रका प्रतिष्ठित व्यवसायी तथा व्यावसायिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ ९सिजन–७० मा नेपालबाट शेर्पाले उक्त सम्मान प्राप्त गरेका हुन् ।
सेजन मिडिया प्रालिद्वारा आयोजित अवार्ड समारोह आइतबार काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको हो । समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्ड प्रदान गरे ।
एसियाली मुलुकका विभिन्न क्षेत्रमा सक्रिय व्यावसायिक तथा पेशागत व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालबाट फेसन शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै शेर्पालाई सम्मान गरिएको हो ।
फेसन शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा नेपाली फेसन क्षेत्रलाई व्यावसायिक र संस्थागत रूपमा अगाडि बढाउन पुर्याएको योगदानको मूल्यांकन गर्दै शेर्पालाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
शेर्पाको नेतृत्वमा सञ्चालन हुँदै आएको आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले नेपालमा फेसन तथा इन्टेरियर डिजाइन शिक्षालाई व्यावसायिक, व्यावहारिक र सिर्जनशील ढंगबाट अघि बढाउँदै आएको छ । संस्थाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास, डिजाइन, सिर्जनशीलता, बजार व्यवस्थापन, उद्यमशीलता तथा फेसन उद्योगसँग सम्बन्धित विभिन्न पक्षमा प्रशिक्षण दिँदै आएको छ ।
आईआईएफटीबाट हालसम्म हजारौँ विद्यार्थीले फेसन तथा डिजाइनसम्बन्धी शिक्षा तथा सीप हासिल गरिसकेका छन् । संस्थाले नेपाली फेसन उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विद्यार्थीलाई आफ्नै सिर्जनशील व्यवसाय तथा व्यावसायिक करियर निर्माणका लागि समेत प्रोत्साहित गर्दै आएको छ ।
अवार्ड ग्रहण गर्दै शेर्पाले प्राप्त सम्मानले आफूलाई फेसन शिक्षाको क्षेत्रमा अझ बढी जिम्मेवारी र उत्साहका साथ काम गर्न प्रेरित गरेको बताए ।
उनले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आईआईएफटीको सम्पूर्ण टोली, शिक्षक–शिक्षिका, विद्यार्थी, पूर्वविद्यार्थी तथा नेपाली फेसन उद्योगसँग आबद्ध सम्पूर्ण व्यक्तिहरूको सामूहिक योगदानको सम्मान भएको बताए ।
नेपालको फेसन शिक्षालाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउँदै नेपाली डिजाइनर तथा फेसन व्यवसायीलाई विश्व बजारसँग जोड्नुपर्ने आवश्यकता रहेको शेर्पाको भनाइ छ । शिक्षा, सीप, प्रविधि र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने दिशामा निरन्तर काम गर्ने उनले बताए ।
शेर्पा लामो समयदेखि शिक्षा, फेसन, डिजाइन तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् । आईआईएफटीको नेतृत्वसँगै उनी शेर्पा ग्रुपका अध्यक्षका रूपमा विभिन्न व्यवसायिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् ।
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ ९सिजन–७० मा एसियाका विभिन्न राष्ट्रबाट सहभागी प्रतिष्ठित व्यवसायी तथा व्यावसायिक व्यक्तित्वहरूलाई आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदान र उपलब्धिका आधारमा विभिन्न विधामा सम्मान गरिएको थियो ।
उक्त अन्तर्राष्ट्रियस्तरको सम्मान समारोहमा नेपालबाट ‘उत्कृष्ट फेसन शिक्षा’ विधामा फुपु तेन्जिङ शेर्पाले अवार्ड प्राप्त गर्नु नेपालको फेसन शिक्षा क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवको हातबाट प्राप्त यो सम्मानले शेर्पाको व्यक्तिगत उपलब्धिसँगै नेपाली फेसन शिक्षा क्षेत्रलाई समेत एसियालीस्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।



Comments are closed.