नेउवा संघ काठमाडौंले मनायो आठौँ स्थापना दिवस

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले विभिन्न कार्यक्रमसहित आठौं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदानसहित सोमबार केक काटेर स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष रमानाथ श्रेष्ठले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता, पदाधिकारी, कार्यसमिति सदस्य, सामाजिक समिति, स्वयंसेवक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । रक्तदानजस्तो मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमले संघको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको उनले उल्लेख गरे ।

‘रक्तदानजस्तो मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमले संघको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ । काठमाडौंमा उद्योगी–व्यवसायीको हकहित, व्यवसाय प्रवद्र्धन तथा समग्र आर्थिक विकासका लागि संघको आवश्यकता र भूमिका सदैव महत्वपूर्ण रहँदै आएको छ,’ उनले भने ।

साथै, अध्यक्ष श्रेष्ठले संघको स्थापना तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउने संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ, संस्थापक उपाध्यक्ष जयप्रसाद सिवाकोटी लगायत सम्पूर्ण संस्थापक पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको योगदानको उच्च स्मरण तथा प्रशंसा गरे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आवश्यकता महसुस गरी संस्थाको स्थापना गरिएको स्मरण गरे । उनले संघ स्थापना गर्न आवश्यक सहजीकरण र सहयोग पु¥याएकोमा तत्कालीन महासंघ कार्यसमितिलाई धन्यवाद ज्ञापन गरे ।

‘स्थापनाकालदेखि नै संघले उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन, उद्यमशीलताको विकास तथा काठमाडौंको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा संघको स्थापनाको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनु पर्छ,’ संस्थापक अध्यक्ष श्रेष्ठले जोड दिए ।

संघका महासचिव प्रेमहरि मैनालीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा संघका आगामी योजना र कार्यदिशाबारे जानकारी दिँदै महासचिव मैनालीले संस्थागत सुदृढलीकरणमा जोड दिए । ‘संघले आगामी दिनमा उद्योगी–व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा संघको संस्थागत विकासमा थप सक्रिय भएर अघि बढ्नेछ । आगामी दिनमा संघले अझ सुदृढ, व्यवस्थित र प्रभावकारी भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व कार्यसमिति सदस्य, संस्थापक पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति थियो । उपस्थित सबैले आठौँ स्थापना दिवसको शुभकामना आदान–प्रदान गरेका थिए ।

You might also like

Comments are closed.